
गोविन्द्र राज तिमिल्सेना,बाजुराः हिमालले ओढेको सुन्दर हरियाली माथी यात्रा गर्नु एउटा अद्भुत र यादगार अनुभव समेत हो।जहाँ,हिमाल,रुख फाँट र बाटोहरू सबै हरियालीको तन्नामा सुतिरहेका हुन्छन्।यस्तो यात्राले मानिसमा थकाई,तनाब भुलाई आनन्द प्रदान गर्ने गर्छ।

प्रकृतिको काखमा सजिएको सुन्दर र मनमोहक अनुपम स्थल।प्राकृतिक सौन्दर्यताले भरिपूर्ण जिल्ला बाजुरा।जहाँ हरेक हिमाल,पहाड र डाँडापाखाले प्रकृतिको कथा बोल्छ।उच्च हिमाली गन्तव्य,रमणिय धार्मिक तथा पर्यटकीय क्षेत्र।बर्षायामको आगमनसंगै बाजुराका हिमाली क्षेत्र निकै लोभलाग्दा।
उच्च हिमाली क्षेत्र अहिले नयाँ रुप,रंग र यौवनले भरिएका छन्।हरेक डाँडापाखा हरियाली छपक्क।हिमालको काखमा फैलिएका विशाल हरियाली पाटन र फाँटले सुन्दर अनुपम प्राकृतिक दृश्य सिर्जना गरेका छन्।हरियाली वनजंगल बेँसीफाँट,नौरङ्गे साडीमा उनिएकी अप्सरा जस्तैःरमाई रहेका हिमाल।लाग्छ,‘स्वर्ग साँच्चिकै यहिँ छ’।
सुदूरपश्चिमको हिमाली जिल्ला बाजुरा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्ला हो।बाजुराको हिमाली क्षेत्रको अनुपम प्राकृतिक सौन्दर्यले कलात्मक रुपमा चित्रण गरेको छ।पाखापखेरो,हिमाल,हरियो घाँसे मैदान,वनस्पतिलाई र हिमालहरुलाई सेताम्य कुहिरोले वस्त्रले ढाकेको छ।एक आपसमा कुहिरो र हिमालहरु बिच गहिरो प्रेम सम्बन्ध स्थापित भए जस्तैः।
बाजुराको हिमाली सौन्दर्यता निकै अद्भुत र अकल्पनीय छ।जति हेरे पनि आँखा नथाक्ने रमाइलो फाँटहरु।कलकल बग्ने खोलाको पानी।सुन्दर बेहुली जस्तैः कुहिरोको घुम्टोमा सजिएका हिमाल।लाग्छ,सुन्दर प्रकृति संग घरजम गरेर त्यहि बसौँ।सिरसिरे हावा,अत्याधुनिक ठण्डी,हिउँ र असिना पानीको एक-आपसको पौठाजोरी।
प्रकृतिले आफैले कारेको एक अनुपम चित्र आफैमा शौभाग्यवती।अहिले बाजुराका उच्च हिमाली क्षेत्र हरिया घाँसले ढाकिएका छन्।हिमालले साच्चिकै हरियालको चोली ओढेजस्तैस्देखिन्छन्। सेताम्य कुहिरोले डाँडाकाँडा अँगालो हाल्छ,चिसो हावाले मनलाई शितल बनाउँछ र ठुला फाँटमा चर्दै गरेका भेडाको बथानले हिमाली क्षेत्रको जनजीविकाको मौलिकता झल्काउँछन्।
बदलिने मौसम,घुम्म बादल,टम्म कुहिरो,नौरङ्गे डाँफे,विभिन्न वन्यजन्तु,अनेकौं जडिबुटीको सुगन्धले हिमाली क्षेत्रको वातावरण थप यादगार रहन्छ।हरियो घाँस र वनस्पतिलाईचोलीसंग तुलना गरिन्छ।जसले हिमाललाई सजाउने प्राकृतिक पहिरनको अनुभूती गराउँछ।यसले हिमाली क्षेत्रको सौन्दर्य मात्र होईन्,जैविक विविधता,सुन्दरता र स्थानीय जनजीवनसंगको गहिरो सम्बन्ध स्थापित गर्न मद्दत पुर्याउँछ।
यहाँको उच्च हिमाली क्षेत्रहरु केवल दृश्यावलोकनका लागी मात्र आकर्षक छैनन्,धार्मिक तथा पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेका क्षेत्र समेत हुन्।खर्कमा रमाईरहेका पशु चौपाया,कलकल बग्ने स-साना खोला,कुहिरोले ढाकेका डाँडाहरु र हरियालीले भरिएका फाँटहरुले प्रकृति र मानव बिचको सहअस्तित्वको गहिरो सन्देश दिने गरेका छन्।यी बाजुराका सम्पत्ति र ढुकढुकी समेत हुन्।




हिमाली फाँटमा प्रकृतिको हरियो कार्पेटः
बर्षायामको समयमा बाजुराको उच्च हिमाली फाँटमा प्रकृतिको हरियो कार्पेट सुन्दर देखिन्छ।फराकिला फाँटहरु हरियो कार्पेट विच्छाएको विस्तरामा सुत्छन्।तल कार्पेट माथी कुहिरोको सिरक ओढेर सुन्दर र मनमोहक डाँडापाखा मस्त निद्रामा पर्छन् र सपना देख्छन्।लगत्तै गड्याङगुडुङ र ठण्डीले ती सुतेका डाँडापाखाहरुलाई फेरि बिउँझाईदिन्छ।
हिमाली फाँटमा ओच्छाएको हरियो कार्पेट केवल विस्तरा मात्र नभई,प्रकृतिलाई मनमोहक,जीवन्त र आनन्दित बनाई राख्ने बस्तुको रुपमा लिईन्छ। विहान कुहिरोसंगै हिमालका चुचुराहरु बादलभित्र लुकामारी खेल्दा तल हरिया घाँसे मैदान र चरिरहेका चौँरी,घोडा तथा भेडाका बथानले हिमाली भू-दृश्यलाई अझ आकर्षक बनाउँछन्।प्रकृति आफैमा अनुपम र सुन्दरीको रुपमा प्रस्तुत हुन्छ।
यहाँका फाँटहरु हरियालीले ढाकिएर ती प्रकृतिको काखैमा रमाउँछन्।सुन्दर कार्पेट विच तानातान भईरहन्छ।आँखिर हरियो कार्पेट कसलाई चाहिँ मन पर्दैन्।‘बाजुराको हिमाली क्षेत्र पर्खी बसेको छ।उ अझै प्रतिक्षामा छ।कुहिरो र हरियालीसंग रमाउँदै।कोही आएर काखैमा बसोस्,सुन्दर भूमिमा रमाओस्।उ,चाहन्छ।यो सुन्दर हरियालीको आँगनमा खेल्नेहरुको कुनै कमी नहोस्।’
मानिसलाई प्रकृतिको हरियाली तन्ना,सेतो कुहिरो,सेताम्य हिम शिखर,भेँडा,घोडा र चराचुरुङ्गीको आवाज,र प्राकृतिक सुन्दरताको मज्जा लिने स्वर्गीय आनन्द यो बाहेक अरु के नै हुनसक्छ ।हिमालले ओढेको हरियालीसंग पौठाजोरी खेल्नु र रमाउँनु कुनै चानचुने कुरा भने होईन्।मानिस सुन्दर प्रकृतिको दुनियाँमा आफै हराउँछ र आफैलाई खोज्न प्रयास गर्छ।



बादलमुनी मुस्कुराउँदै हिमाल र हरियालीः
विहानीको घामको पहिलो किरणसँगै क्षितिजमा फैलिएको हल्का सुनौलो आभा,त्यसैमाथी सेतो बादलको घुम्टो र बीचबाट मुस्कुराईरहेका हिमालहरु,लाग्छ यो दृश्य प्रकृतिले आफैले सिर्जित गरेको अर्थात् कोरेको हो।बादलमुनिको खर्क,भेडिगोठ,चर्दै गरेका भेडाबाख्रा,चौरी र घोडाहरु।
एका विहानै सुर्यको किरणमा टलक्क टल्किने हिमाल,शान्त वातावरण,चिसो हावाको स्पर्श र हरियालीले भरिएका डाँडापाखा जो-कोहीलाई केही क्षणका लागी भोक,थकान,निद्रा,दुःख,पीडा र व्यस्तताबाट टाढा पुर्याइदिन्छ।अग्ला डाँडापाखा सेताम्य कुहिरोसँग लुकामारी खेल्छन्।कुहिरो हिमालको काखमा खेल्छन्,त कहिले शिखरलाई अँगालो हाल्छन्।
बादलभित्र लुकेका हिमालहरु घरिघरी आफ्नो सुन्दर मुहार देखाउँछन्।विस्तारै बादल हट्दै जाँदा चाँदीझै टल्किन्छन्।तिनिहरुको वास्तविक सौन्दर्य नै त्यहिबेला झल्किन्छ।यही परिवर्तनशील दृश्यले हिमाली प्रकृतिलाई जीवन्त र आकर्षक बनाउने गर्छ।सुन्दर जुन झै चम्किने मुहार,मृग नयनी आँखा,सेताम्य दन्त,हरियाली समथर फाँट र हिमश्रृङखलाको कलात्मक स्वरुप निकै आश्चार्यजनक।
हिमालको फेदीमा फैलिएको हरियाली,चरनमा रमाईरहेका चौँरी र भेडाका बथान,चिरविर गर्ने चराचुरुङ्गी र टाढाटाढाबाट सुनिने कलकल खहरे खोलाको सुसाइले यहाँको वातावरणलाई अझ मनमोहक र आकर्षक बनाउँछ।स्थानीय भेडिगोठाला हिमाली सुन्दरता र कुहिरोसँग रमाउँदै आनन्दित र अनुभूति लिने गर्छन्।उनीहरुको प्रकृति संगको आत्मिय सम्बन्ध निकै गहिरो।




बादल,खर्क,घोडा र भेडाको अद्भुत संगमः
हिमाल केवल प्राकृतिक सम्पदा मात्र होईनन्,आशा,धैर्य र आत्मविश्वासका प्रतिक समेत हुन्।बादल,खर्क,घोडा र भेडा हिमाली क्षेत्रका पहिचान समेत हुन्।प्रकृतिको काखमा जहाँ बादल,खर्क,घोडा र भेडाको अद्भुत संगम हुने गर्छ। तिनै हुन्,हिमाली क्षेत्रका गहनाहरु।तिनिहरुले नै थप प्रकृतिलाई जीवन्त बनाई राखेका हुन्छन्।
मडारिने बादल,त्यसभित्र लुकेका हिमाली खर्क,हरियाली तन्नामा आहार खादैँ गरेका घोडा र भेडाको दृश्य निकै चाखलाग्दो,लोभ्याउदो र प्रकृतिप्रेमी।तिनिहरुले प्रकृतिलाई आफ्नै प्रेमी ठानेर माया गर्दै सुख दुःख साटासाट गर्छन्।विभिन्न कठिनाईका बाफजुत पनि अटल भएर अभिएका हिमशिखरहरु संग पशुचौपाया पौठाजोरी खेल्छन् र रमाउँछन्।
बादलमुनि मुस्कुराईरहेका हिमाल,भेडीगोठ,हेर्दा लाग्छ,प्रकृतिले मौन भाषामै जीवनका सुन्दर पाठहरु सिकाईरहेको छ।बाजुराको बडीमालिका,त्रिवेणी,२२ पाटन लगायत आसपासको क्षेत्र लेक,पाटन र हिमाली बस्तिहरु यतिवेला प्रकृतिको अनुपम उपहार बनेका छन्।शीतल हावा,स्वच्छ वातावरण,र हरियालीले सजिएको हिमाली भू-भागको सौन्दर्यलाई नजिकबाट अनुभूति गर्न सक्छन्।
बडिमालिका क्षेत्र निकै रमणीय र मनमोहक छ।अहिले बर्षातको समयमा झनै कुहिरोको लुगामा बडीमालिका,त्रिवेणी सजिएका छन्।स्पष्ट रुपमा बादल,खर्क,घोडा र भेडाको संगम देख्न सकिन्छ।यो सृष्टीमा असम्भव भन्ने कुरा केही रहेन छ।प्रकृतिको परिवारमा होस् कि मान्छेमा,सबै कुरा सम्भव हुन्छ भन्ने उदारण हो,बाजुराको हिमाली सौन्दर्यता।
सुन्दरता र स्वच्छतामा अलौकिक।भन्दा फरक पर्दैन,बाजुराको हिमाली क्षेत्र स्वर्ग नै हो । त्यो पनि धर्तीमा लुकेको सुदूरको स्वर्ग।बाजुरा भू-स्वर्ग को जिल्ला।यहाँका हरेक हिमाली क्षेत्र आस्था र विश्वासका जननी हुन्। त्यसैमा भेटिएका प्रकृतिको स्वर्ग पनि यिनै हुन्।हरेक क्षेत्र आफैमा अब्बल र शक्तिशाली छन्।बाजुराको हिमाली क्षेत्रलाई यहाँका सरोकारवाला निकायले स्वर्गको रुपमा तुलना गर्ने गर्छन्।हुन्,पनि साँच्चिकै स्वर्ग नै छ।




अविष्मरणीय क्षणः
हिमाली क्षेत्रको यात्राका क्रममास् विभिन्न अनुभूव र अनुभूति ग्रहण गर्ने मौका जुर्ने रहेछ।घुम्नु केवल मनोरञ्जन मात्रै होईन्।नयाँ अनुभव र अनुभूती ग्रहण गर्ने माध्यम समेत हो।घुमफिरले नयाँ संसारको परिकल्पना गर्न सहयोग पुर्याउँछ।घुम्न मन लागेपछि कसैले रोक्दैन्,रहेछ। न मौसमले,नत, झरीले,न वर्षा बादल र हिउँले।
हरेक पाइला पाइलामा संघर्ष,हरेक मोड एउटा नयाँ कथा।अग्ला हिमाल र विशाल फाँटमा रमाउँने ईच्छा।उच्च हिमाली क्षेत्रको यात्रा अत्याधिक जोखिम र कष्ठपूर्ण।अत्याधिक जाडो र खराव मौषम नै यात्राको बाधक।प्रकृति आफैमा विलिन थियो।प्रकृतिलाई सुन्दरताको भने कुनै कमी थिएन्।
वरपरको सुन्दर दृश्य नियाल्दा लाग्यो स्वर्ग यहिँ हो।साच्चै पहाडभित्र लुकेको अर्को नयाँ संसार।सौन्दर्यताको खानी।विभिन्न तरिकाले बयान गर्ने उत्साह जाग्यो।कठिनाई पार गर्दै अघि बढेको हाम्रो यात्रा।‘हरियो कार्पेट माथीको यात्रा केवल दृश्य मात्र हेर्ने नभई,प्रकृति र आफैलाई चिन्ने यात्रा समेत रहेछ।’
घाम र बादलको लुकामारीले कहिले उज्यालो त कहिले धुम्म वातावरण सिर्जना गर्छ,जसले हरेक दृश्यलाई चित्रकारको क्यानभासझैँ,आकर्षक बनाईदिन्छ।यहि अनुपम दृश्यले यात्रा निकै अविस्मरणीय बनाईदियो। यो अनुभूव र अनुभूति सधैं यादगार रहनेछ।बादलले डाँडा चुम्छन्,प्रकृतिले आफ्नै भाषामा सौन्दर्यको कविता लेख्छ।
बर्षायाममा यहाँको दृश्य झन मनमोहक बन्छ।बादल र हरियालीले हिमाली क्षेत्रलाई स्वर्ग जस्तैः बनाईदिन्छ।स्थानीय गौरी तिमिल्सेना बताउँछन्,‘बाजुराको हिमाली क्षेत्र आफैमा स्वर्ग हो।स्वर्गको बयान गर्न कुनै जरुरी छैन्।प्रकृतिको सुन्दर गुण नै उसको सौन्दर्यता हो।हिमाली क्षेत्रको यात्रा अनुभूती,संघर्ष र सौन्दर्यको संगम हो।’
हरियो विस्तरामा सुतेका फाँटहरुले मुस्कुराउँदै हामीलाई बोलाए जस्तो लाग्थ्यो।यात्राबाट फर्किदा पनि हामीलाई लागिरह्यो—यी अप्सरा जस्तैः हिमालहरुले फेरि हामीलाई बोलाउनेछन्।किनकी ती सुन्दर हिमालहरु हाम्रो मनमा बसेका छन्। मानौँ,बादलले डाँडाकाँडालाई चुमिरहेका छन्,र विशाल फाँट र हिमालहरुले हरियालीको चोली ओढेर मुस्कुराईरहेका छन्।





खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर