
फागुन, काठमाडौं – २३ कात्तिक २०७३ मा भारत सरकारले एक्कासी ५ सय र १ हजार रुपैयाँका दरमा प्रतिबन्ध लगाउने निर्णय गर्यो । कालो धन नियन्त्रण गर्न भन्दै छिमेकी मुलुक भारतले गरेको यो निर्णयले नेपाल सरकारलाई भने अहिलेसम्म पिरोलेको छ ।
सरकारी उदासीनताले भनौं या भारत सरकारको बेवास्ताले नेपालको बैंकिङ प्रणालीमा रहेका ७ करोड रुपैयाँ भारतीय रुपैयाँ साटिएनन् । नेपाल राष्ट्र बैंकले आफूसँग रहेका भारतीय नोटहरु साट्नका लागि पहल नगरेको होइन । आफूसँग रहेको करोडौं रुपैयाँ साटिदिनका लागि भन्दै भारतीय केन्द्रीय बैंकलाई पटक(पटक पत्राचार गरे पनि भारत सरकारले सुनेन ।
अब भने राष्ट्र बैंकले सटही हुने आश मारेको छ । लामो समय सटही हुने आशमा रहेको राष्ट्र बैंकले यस बीचमा नेतृत्व नै परिवर्तन भइसकेको छ । भारतीय नोट साट्नका लागि त्यसबेला निकै सक्रियता देखाएका तत्कालीन डेपुटी गभर्नर चिन्तामणि सिवकोटी, अर्का डेपुटी गभर्नर शिवराज श्रेष्ठ र गभर्नर डा। चिरञ्जीवी नेपाल अवकास भइसकेका छन् । उनीहरुको अवकास पछि नयाँ आएको नेतृत्वले भने यस विषयमा चासो पनि देखाएको छैन ।
‘अब त हामीले आश पनि मारिसकेका छौं, नोट साटिने भन्ने सम्भावना छ भन्ने लाग्दैन’ राष्ट्र बैंकका एक कर्मचारी भन्छन्, ‘सास रहेसम्म आस चाहिं गर्नुपर्छ भन्ने उखान जस्तै नोट ढुकुटीमा थन्काएर राखिएको छ, साटिन्छ भन्ने कुरामा भर पर्न सक्ने अवस्था रहेन ।’
भारत सरकारले भारु ५ सय र हजार दरका नोट चलनचल्तीमा प्रतिबन्ध लगाउँदा नेपाली वित्तीय प्रणालीमा करिब ७ करोड ८५ लाख भारु नोट रहेको बताएको थियो । यसमा थोरै केही रकम विभिन्न निकायहरुले सटही गरे पनि धेरै रकम अहिले पनि राष्ट्र बैंकका ढुकु्टीमा थन्किएर बसेको छ । राष्ट्र बैंकका अधिकारीहरुका अनुसार सर्वसाधारणको समेत जम्मा गरेको भए धेरै भारतीय रुपैयाँ जम्मा हुने थियो । तर सर्वसाधारणहरुसँग भएको नोटहरु राष्ट्र बैंकले साटेन ।
राष्ट्र बैंकलाई भारतीय नोटहरु सटही नगर्नका लागि निर्देशन नै दिएको थियो । भारतले नेपालमा रहेका वैधानिक नोटहरु समेत साटिदिन अनिच्छा देखाएपछि राष्ट्र बैंकले सर्वसाधारणहरुको नोट समेत नसाट्न बैंकहरुलाई निर्देशन दिएको थियो । राष्ट्र बैंकको विदेशी विनिमय विभागका तत्कालीन कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले सटही नै बन्द गर्न बैंकहरुलाई पत्र लेखेका थिए ।
नेपालका प्रायः सबै ठाउँमा भारतीय नोटहरु चल्ने गरेका छन् । अझ मोरङको जोगवनी, सप्तरी, सिरहा जस्ता भारतीय सीमा नाका नजिकका क्षेत्रहरुमा नेपाली रुपैयाँ भन्दा पनि बढी भारतीय रुपैयाँहरु चल्ने गरेका छन् । सुदूरपश्चिमका धेरै नेपालीहरु भारतमा श्रम गर्न जाने भएकाले त्यस क्षेत्रमा पनि भारतीय रुपैयाँ निकै रहेको राष्ट्र बैंकको अनुमान थियो ।
‘त्यसबेला धन्न राष्ट्र बैंकले वुद्धि पुर्याएर सर्वसाधारणको नोट सटही गरेन जसले अहिले ११ करोड नेपाली रुपैयाँ बराबरका मात्रै भारतीय नोट थन्किएका छन्, सर्वसाधारणको पनि जम्मा गरेको भए त धेरै नै हुने थियो’ राष्ट्र बैंकका ती कर्मचारी बताउँछन् ।
बाठाहरु जोगिए
यस्ता भारतीय नोटहरु सर्वसाधारणसँग कति छ भन्ने विषयमा भने राष्ट्र बैंकसमेत बेखबर छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा लामो समयदेखि रहेक एक जना कर्मचारीका अनुसार नेपालका ठूला उद्योगीहरुले समेत थुप्रै भारतीय नोट रहेको बताएका थिए । राष्ट्र बैंकलाई साटिदिन निकै आग्रह गरे पनि उनीहरुले भारु नोट भने राष्ट्र बैंकमा बुझाएनन् ।
नेपाल राष्ट्र बैंकले आफूसँग रहेका भारतीय नोटहरु साट्नका लागि पहल नगरेको होइन । आफूसँग रहेको करोडौं रुपैयाँ साटिदिनका लागि भन्दै भारतीय केन्द्रीय बैंकलाई पटक(पटक पत्राचार गरे पनि भारत सरकारले सुनेन ।
राष्ट्र बैंकका अनुसार भारतले नोटबन्दी लगाए पनि भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका, तुलसी अग्रवाल, रामचन्द्र संघई लगायत धेरै उद्योगी व्यवसायीहरुले आफूसँग नोट रहेको बताएका थिए । पछि भने उनीहरु राष्ट्र बैंकको सम्पर्कमा गएनन् ।
‘उहाँहरुले सुरुमा छ भन्नुभएको थियो । तर हामीले पनि तत्कालै साटिहाल्न सक्ने अवस्था छैन भन्यौँ’ विदेशी विनिमय विभागका एक अधिकारी भन्छन्, ‘व्यापारीहरुको पनि भारतमा छुट्टै च्यानल हुन्छ, उहाँहरुले पनि आफ्नै च्यानलबाट सायद सटही गर्नुभयो होला ।’ भारतमा काम गर्न जाने सामान्य श्रमिकहरुसँग के–कति रकम थियो भन्ने विषयमा भने राष्ट्र बैंकले अध्ययन नै गर्न चाहेन ।
अध्ययन गरेर यति रकम छ भन्ने थाहा भएको भए झन् सटहीका लागि राष्ट्र बैंककै ‘टाउको दुख्ने’ भन्दै त्यसबेला राष्ट्र बैंकले चासो नदेखाएका हो । ठूला उद्योगीहरुले सटहीका लागि दबाब दिएको भए पनि राष्ट्र बैंकले अलि बढी चासो देखाउने थियो । अहिले पनि सर्वसाधारणहरुसँग कति छन् वा छैनन् भन्ने विषयमा राष्ट्र बैंकलाई जानकारी छैन ।
प्रयास असफल नै रह्यो पूर्वडेपुटी गभर्नर
भारतले नोटबन्दी लगाएको एक वर्षसम्म नेपाल राष्ट्र बैंकले नेपालमा रहेका भारु सटहीमा निकै अग्रसरता देखाएको थियो । तत्कलीन डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीका अनुसार नेपाल राष्ट्र बैंकको टोली सटहीका विषयमा वार्ता गर्न भारत नै पुगेको थियो ।
भारतीय केन्द्रीय बैंकको टोली पनि २ पटक नेपालमा आएको थियो । भारतको हेपाहा प्रवृतिका कारण नोट सटही हुन नसकेको पूर्वडेपुटी गभर्नर सिवाकोटी बताउँछन् । सिवाकोटीका अनुसार प्रति व्यक्ति २५ हजार रुपैयाँसम्म सटही सुविधा दिनु पर्ने नेपाल राष्ट्र बैंकको माग थियो ।
‘हामी भारत गयौं, आरबीआईका विदेशी विनिमय प्रमुखसँग पटक पटक छलफल भयो, भारतीय टोलीसँग दुई पटक नेपालमा वार्ता भएको थियो,’ उनले भने, ‘उनीहरुले सटहीका लागि प्रणालीका विकास गर्न भनेको थियो, सो अनुसार हामीले सफ्टवेयरको विकास समेत गर्यौं ।’
भातरले सुरुमा सटही गर्न सकारात्मक देखिएको थियो । एक व्यक्तिले २५ हजार भन्दा धेरै साट्न नपाउने निर्देशन भएको थियो । एक व्यक्तिले एक पटक भन्दा बढी नोट सटही गर्न नसक्ने गरी सफ्टवेयर समेत बनायो । तर पछि भारतले कुरा फेर्यो । प्रतिव्यक्ति ४ हजार ५०० मात्रै सटही गरिदिने बतायो । ‘त्यो भारतको पेल्ने नीति थियो, हामीले त्यो प्रस्ताव अस्विकार गर्यौं,’ उनले भने, ‘हाम्रो माग भनेको २५ हजार साटिदिनु पर्छ भन्ने थियो, हामी हाम्रो अडानमा अडिग रह्यौं ।’
थोरै मात्रै सटही सुविधा लिंदा कुनै सर्वसाधारणको साट्ने र कसैको नसाट्ने जस्तो परिस्थिति आउने भएकाले आफूहरु त्यसका लागि तयार नभएको उनी बताउँछन् । पछि भने भारतले यस विषयमा वास्तै गर्न छाड्यो । करोडौं रकम थन्काएर बसेको राष्ट्र बैंकले अहिले भने यो विषयमा चुपचाप बसेको छ । माथिल्लो तहबाट फेरि प्रयास भए केही सटही हुनसक्छ कि भन्ने झिनो आश बाँकी रहेको पूर्वडेपुटी गभर्नर सिवाकोटी बताउँछन् ।
पुनः पहल नगर्ने हो भने थन्काएर राखिएका भारु नोट जलाउनुको विकल्प नरहेको उनी बताउँछन् । सरकारी स्तरबाट पनि पहल नभएको उनी बताउँछन् । प्रधानमन्त्रीको भारत भ्रमणका बेला राष्ट्र बैंकको प्रतिनिधि भ्रमणमा परेनन् । भ्रमणको टोलीमा केन्द्रीय बैंकको प्रतिनिधि पनि पठाइएको भए यो विषय उठान हुने उनी बताउँछन् ।
‘प्रधानमन्त्रीको भ्रमण टोलीमा २ सय जनासम्म अट्दा केन्द्रीय बैंकका प्रतिनिधि अट्दैनन्, यस्तो महत्वपूर्ण कुरा उठ्दा निकास पाउने थियो’ उनी भन्छन् । दुई देशका केन्द्रीय बैंकको गभर्नर टू गभर्नर तहबाटै यो समस्या समाधानको कोसिस हुनुपर्ने उनी बताउँछन् । त्यो पनि नभएर सरकार स्तरबाटै भए पनि एक पटक समस्या समाधानका लागि कोसिस गर्नुपर्ने उनको सझुाव छ । यति पनि नगर्ने हो भने नोट त्यसै जलाउनु पर्ने अवस्था आउने उनको भनाइ छ ।
भारतीय ठूला नोट नेपालमा प्रतिबन्ध
नोटबन्दीको केही समय पछि भारतले ५ सय र २ हजारको नयाँ भारतीय रुपैयाँ चलनचल्तीम ल्याएको थियो । भारतले प्रचलनमा ल्याएको ५०० र २ हजारको नयाँ नोट नेपालमा अहिलेसम्म प्रतिबन्ध लगाइएको छ ।
यी नोटहरु चलनचल्तीमा आएपछि भारतले नेपाललाई पत्राचार गरेर यस विषयमा जानकारी गराएको थियो । तर पहिले नोटबन्दी गरिएको नोटहरु सटही नभएको भन्दै प्रतिबन्ध लगाइएको राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेल बताउँछन् । राष्ट्र बैंकले यसलाई ‘अनाधिकृत र अवैध’ भनेको छ । भारत सरकारले ५०० र १ हजारको पुरानो नोटमा प्रतिबन्ध लगाएपछि रिजर्ब बैंक अफ इण्डिया ९आरबीआई ले ५ सय र २ हजारको नयाँ नोट बजारमा ल्याएको थियो ।
यो नोट नेपाली बजारमा देखिन्छन् । खासगरी सीमावर्ती क्षेत्रहरुमा भारतीय नोटहरु देखिने गरेका छन् । तर, नयाँ भारुको नेपालमा कारोबार गर्न सक्ने व्यवस्था छैन । अहिले नेपालमा सय रुपैयाँ र सो भन्दा साना नोटहरु मात्रै कारोबार गर्न सकिने अवस्था छ । सय रुपैयाँ भन्दा माथिका कुनै पनि नोट नचल्ने राष्ट्र बैंकले बताएको छ ।
यो समाचार आजको अनलाईन खबरमा छ ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर