
गाेविन्द्र राज तिमिल्सेना,बाजुरा: बाजुरामा २३ औं राष्ट्रिय धान दिवस तथा राेपाईँ महाेत्सव भव्य रुपमा मनाईएकाे छ।“जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने मूल नारा सहित यहाँका ९ वटै स्थानीय तहले याे बर्षकाे राष्ट्रिय धान दिवस तथा राेपाईँ महाेत्सव भव्य रुपमा मनाएका हुन्।

कृषि ज्ञान केन्द्र बाजुरा र विभिन्न पालिकाकाे कृषि शाखाकाे आयोजनामा दिवस मनाईएकाे छ।दिवसमा अवसरमा जनप्रतिनिधि,कर्मचारी,सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि,सराेकारवाला निकाय,विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी,किसान र पत्रकारहरु किसानकै खेतबारीमा पुगेर हर्षाेल्लासका साथ दिवस मनाएका हुन् ।
जमिनमा अग्रानिक मल,परम्परा,संस्कृति र प्रविधिलाई आत्मसाथ गर्दै राष्ट्रिय धान दिवस तथा राेपाईँ महाेत्सव गरिएको हाे। परम्परागत शैलीमा धान राेपाईँ गर्दै कृषि उत्पादनमा वृद्धि,आधुनिक खेती प्रणालीकाे विस्तार तथा जलवायु परिवर्तनसंग अनुकूल हुने खेती प्रविधिबारे सन्देश प्रवाह गरिएको थियाे।
धान तथा राेपाईँ महाेत्सवमा सहभागीहरुले खेतमा प्रविधि (हाते ट्याक्टर) काे सहायताले खेत जाेत्दै,खन्दै असारे संस्कृति र आधुनिक प्रविधि अपनाएर उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जाेड दिएका थिए। धपधपे हिलाेमा एक-आपसमा हिलाे छ्याप्दै रमाइलो गरिएको थियाे।
प्रमुख जिल्ला अधिकारी डाेरेन्द्र निराैलाले किसानहरुमा धान तथा राेपाईँ महाेत्सवकाे शुभकामना व्यक्त गर्दै आजकाे दिन ‘मानाे खाएर,मुरी उब्जाउने दिन’ रहेकाे बताएका थिए।यस्ता खाले परम्परा र संस्कृतिलाई जीवन्त बनाईराख्न हिलाे र माटाे संग रम्ने बानीकाे विकाश गर्नु पर्नेमा जाेड दिएका थिए।
‘परम्परा,प्रविधि र संस्कृतिकाे संरक्षणमा स्थानीय कृषक मुख्य जिम्मेवार हुनुपर्छ। कृषि पेशा नै आत्मनिर्भरताकाे प्रमुख आधार हाे।हिलाे माटाे सँग पाैठाजाेरी खेलेर अघि बढेकाे खण्डमा परम्परा,श्रम र संस्कृति सबैकाे संरक्षण हुन्छ।आपसी सद्भाव,मेलमिलाप,पहिचान र श्रमकाे सम्मानकाे रुपमा दिवसलाई लिन सकिन्छ।’ उनले भने।
त्यस्तै जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले कृषि खेतीमा सबैले व्यवसायीक रूपमा लाग्नुपर्नेमा जोड दिदैँ युग देखि चलिआएको किसान दिवस अर्थात् धान दिवसले कृषि क्षेत्रमा सकारात्मक छाप छाेडेकाे बताए।नेपाल सरकारले समेत अपनत्व गरेर कृषि क्षेत्रलाई महत्व दिएकाे प्रति खुसी व्यक्त गरे।
‘धान दिवस किसानकाे दिवस हाे।कृषककाे श्रमकाे सम्मान गर्न सक्नुपर्छ।बाजुरा जस्तो हिमाली जिल्लामा कृषि अझै पनि अधिकांश नागरिककाे मुख्य पेशा रुपमा जीवित छ।जीविकाेपार्जनकाे मुख्य आधार कृषि भएकोले यस क्षेत्रमा लगानी र आधुनिकिकरण अपरिहार्य छ।’ उनले भने।
बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले उत्पादनलाई बढवा,रैथाने बालीनालीकाे प्रबर्द्धन,अर्गानिक खेती र उत्पादनमुखी परिणाममा जाेड दिनुपर्ने बताए। कृषि अर्थतन्त्रमा सुधारमा ल्याउन नीतिगत रुपमा नेपाल सरकार र पालिकाहरुले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेर अघि बढ्नुपर्नेमा जाेड दिए।
त्यस्तै बडीमालिका नगरपालिका वडा.नम्वर ७ का वडाध्यक्ष धर्मराज पाध्यायले राेपाईँ हाम्रो परम्परा र संस्कृति भएकोले परम्परागत कृषि संस्कृतिकाे संरक्षणसँगै आधुनिक प्रविधिकाे प्रयाेगलाई आत्मसात गर्नुपर्नेमा जाेड दिए। साथै उनले पछिल्लो समय जलवायु परिवर्तनका कारण पानीका मुल सुक्दै जाँदा कृषि क्षेत्रमा असर परेकाे बताउँदै यसमा तिनै तहका सरकार गम्भीर हुनुपर्ने धारणा राखे।
अझै नँया प्रविधिकाे विकास, सरकारले समयमै बीउ,मल र सिचाईँकाे व्यवस्था गरेकाे खण्डमा उत्पादन बढाउन सकिने किसानहरुकाे गुनासाे छ।बाजुराका अधिकांश ठाउँमा आकाशे पानीको भरमा रोपाइ हुने गर्छ।कतिपय भिरालो तथा पाखो जमिनमा भने अझै रोपाइँ हुन सकेको छैन ।
धान दिवस केवल,औपचारीक कार्यक्रम मात्र नभई किसानकाे श्रमकाे सम्मान गर्ने दिनका रुपमा लगिन्छ। खेतमा गुञ्जिएका असारे भाका,सामुहिक राेपाईँ,र स्थानीय संस्कृतिकाे झल्काेले यस्ता कार्यक्रमलाई थप जीवन्त बनाएकाे हुन्छ।कृषि सामाग्रीकाे सहजता उपलब्धता र बजार व्यवस्थापनमा राज्यले विशेष ध्यान दिनुपर्ने आवश्यकता किसानहरुले औँल्याएका थिए।
राष्ट्रिय धान दिवस तथा राेपाईँ महाेत्सवले बाजुरमा कृषि संस्कृति र सामुहिक श्रमकाे महत्वलाई पुन: स्मरण गराएकाे छ।आत्मनिर्भर कृषि,उत्पादन वृद्धि र किसानकाे जीवनस्तर उकास्ने यस्तो कार्यक्रमले कृषि क्षेत्रमा थप टेवा पुग्ने विश्वास लगिएकाे थियाे।दिवसले असारे राेपाईँसंग जाेडिएकाे माैलिक संस्कृति,श्रमकाे सम्मान र सामुहिक सहभागीताकाे परम्परालाई उजागर गरेकाे छ।
बाजुरामा प्रत्येक बर्ष भव्य रुपमा दिवस मनाउने गरिन्छ। सहभागीहरु अन्तिममा दहि,च्युरा,केरा खादैँ कृषककाे माया सहित आपसी सद्भाव कायम राखेर खेतबारीबाट विदाई हुने प्रचलन छ।बाजुरामा ६ हजार ९१५ हेक्टर धानको क्षेत्रफल छ।जहाँ १३ हजार १४० हेक्टर जमिनमा धान उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।








खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर