
गाेविन्द्र राज तिमिल्सेना,बाजुरा: व्यक्तिमा आदर्श, नैतिकवान र ईमान्दारीता जरुरी हुनुपर्छ। मानिसमा हुनुपर्ने प्रमुख गुण यिनै हुन्।यीनै गुणबाट व्यक्तिले आफू सहित समाज र देश बदल्छ। वर्तमान युगमा आदर्श विचार,नैतिकवान र ईमान्दारी व्यक्ति भेटाउनै मुस्किल छ।

आदर्श,नैतिकवान र ईमान्दारीता हरेक क्षेत्रसंग समेटिएकाे हुन्छ।यस्ता गुण भएका व्यक्ति विरलै मात्रामा भेटिन्छन्।एकले अर्काकाे चियाेचर्चा,खुरापाती गर्ने व्यक्तिहरुकाे कुनै कमी छैन्।यस्ता बिषय राजनीति क्षेत्रमा अझ बढि सक्रिय छन्।साेही सन्दर्भमा अहिले देशैभरी चुनावी माहाेल छ।
सम्पूर्ण उम्मेदवार भाेट माग्न घरदैलो अभियानमा व्यस्त छन्। बाजुरामा पनि चुनावी माहाेल निकै तातेकाे छ। यहाँका सम्पूर्ण उम्मेदवार घरदैलो अभियानमा व्यस्त छन्।चुनावी माहाेल नियाली रहँदा एक-आपसमा राजनितीक दलकै व्यक्तिले आराेप-प्रत्याराेप गरिरहेका छन्।
तर कतिपय यस्ता उम्मेदवार पनि छन्। जसले आदर्श नैतिकवान र स्वच्छ तरिकाले सम्पूर्ण दलहरुकाे समर्थन गर्दै आफू चुनावी मैदानमा छन्।जसकाे उदाहरुकाे रुपमा स्थापित छन्। स्वतन्त्र उम्मेदवार उपेन्द्र शाही। स्वतन्त्र रुपमा चुनावी मैदानमा उत्रेका शाही स्थानीय राजनीतिमा आदर्श,नैतिकता र स्वच्छ छविले अघि बढेका छन्।
उनकाे भाेट अपिल गर्ने कार्यशैली,आदर्श र सम्पूर्ण दलहरुलाई समर्थन गर्ने स्वच्छ व्यवहारका कारण सामाजिक सञ्जालमा शाहीप्रति सकारात्मक सन्देश मिलिरहेकाे देखिन्छ।अन्य पार्टीका व्यक्तिहरूलाई नानाथरी आराेप-प्रत्याराेप छाईरहे पनि शाही प्रती भने सबैले सकारात्मक व्यवहार देखाई रहेका छन्।
पार्टीगत स्वार्थभन्दा माथी उठेर समाजसेवा,ईमानदार राजनिती र जनउत्तरदायी नेतृत्वकाे अभ्यास गर्दै आएका शाहीकाे लाेभलाग्दाे आचरणले आम नागरिककाे मन भने जित्न सफल भएका छन्। शाही सरल,पारदर्शी र अनुशासित तरिकाले घरदैलो अभियानमा समेत व्यस्त छन्।घरदैलाे अभियानका क्रममा: उनी सामान्य तरिकाले जनतासामु हाेमिएका छन्।
अन्य दलका व्यक्तिकाे जस्ताे: अनावश्यक तामझाम, खर्चिलो कार्यक्रम वा नकारात्मक भाषणबाट टाढा रहेर आफ्नाे कुशलता,विचार,व्यवहार र कर्मलाई प्राथामिकता राखेर एक्लाएक्लै घरदैलो अभियान गरिरहेका छन्।नजिकैबाट जनताकाे घरदैलोमा पुगि समस्या सुन्ने,समाधानका उपायहरु स्पष्ट रुपमा प्रस्तुत गर्ने र झुटा आश्वासन नदिने कुशल शैली नै शाहीकाे पहिचान बनेकाे छ।
शाहीकाे आचारमा लाेभ,दबाब र प्रभाव भन्दा टाढा रहने दृढता स्पष्ट देखिन्छ।जनताका संग शिष्ट भाषा,सबै वर्गप्रती सम्मान र विपक्षीप्रती पनि मर्दायित व्यवहारले शाहीलाई अलगै पहिचान दिएकाे छ। उनकाे शिष्ट शैली र सकारात्मक आचरणका कारण युवादेखि ज्येष्ठ नागरिकसम्म उहाँप्रतिकाे विश्वास बढ्दाे छ।उनले सबै पार्टीका व्यक्तिहरुलाई समर्थन गर्दै अघि बढेका छन्।
शाहीकाे लाेभलाग्दाे आचरण:
शाहीकाे आचरण अहिले अन्य राजनितीक दलका व्यक्तिकाे भन्दा फरक शैलीकाे छ। अन्य दलका व्यक्ति एकआपसमै मनमुटाव,खुरापाती गरेर सामाजिक सद्भावमा खलल पुर्याई रहेका छन्। भने शाही सामाजिक सद्भाव कायम गर्दै समर्थनकाे यात्रामा छन्।उनले सामाजिक सञ्जाल मार्फत जन-साुदायमा सकारात्मक सन्देश प्रवाह समेत गरिरहेका छन्।
बाजुराको विकास गर्ने हुटहुटी बोकेर जेन–जि पुस्ताका युवा नेता उपेन्द्र विक्रम शाहीकाे लाेभलाग्दाे आचरणले आगामी दिनहरुमा युवापुस्ताकाे राजनितीमा सकारात्मक परिवर्तन ल्याउने देखिन्छ।उनले स्थानीय स्रोत-साधनकाे सदुपयोग र जवाफदेही प्रशासनकाे पक्षमा स्पष्ट धारणा राख्नु भएको छ।युवा पुस्तालाई प्रतिनिधित्व गर्दै आगामी दिनकाे राजनीति यात्रमा युवापुस्ताकाे सक्रियता बढाउन कुशल कार्यशैलीका साथ समृद्धिकाे यात्रा तय गर्दै छन्।
शाहीले अहिलेकाे निर्वाचनमा बाजुराले हिंसा नभई शान्ति खाेजेकाे समेत बताएका छन्। उनले भनेका छन्,“राजनीति सेवा हो,व्यवसाय होइन ।बाजुराले हिंसाकाे नभई,शान्तिकाे राजनिती खाेजेकाे छ ।हामी युवा हौँ,हाम्रो रगत तातो छ तर हामी हिंसा होइन,शान्ति चाहन्छौं।नेतृत्व गर्नेहरू आफ्ना शब्द प्रति सचेत बनुन्,युवालाई लडाइँ होइन,भविष्यतर्फ डोर्याऊन्।”
स्थानीय राजनीतिमा सकारात्मक सन्देश:
शाहीकाे कुशल व्यवहारले नै स्थानीय राजनीतिमा सकारात्मक सन्देश पैदा गरेकाे छ।उनले हामी मात्रै हाैँ,हामी भन्दा माथी अरु काेही छैनन् भन्ने भास्य आफूदेखि टाढा राख्न आग्रह गरेका छन्।साथै उनले चुनाव अघि जनतामा अनेकौं भ्रम छर्ने,विकास याेजनाका नाममा जनतालाई नानाथरी आशा देखाउने कार्यकाे घाेर निन्दा समेत गरेका छन्।
युवा-जाेश जागर र आगामी राजनीतिमा युवा पुस्ताकाे सक्रिय सहभागीता जनाउँन आफू कुशल कार्य शैलीका साथ निर्वाचनमा हाेमिएकाे बताए ।शाहीले हरेक नेताहरुले आफूलाई आदर्श र नैतिकवान नेताका रूपमा स्थापित गर्न आवश्यक रहेकाे कुरामा जाेड दिए।उनले भने,“हरेक राजनिती गर्ने नेतृत्वमा कुशलता,आदर्श र ईमान्दारीता हुन जरुरी छ। यदि यी गुण नभएको व्यक्ति कहिल्यै नेता बन्न सक्दैन्।”
बाजुराबाट स्वतन्त्र उम्मेदवार बनेका शाहीकाे हरेक कार्यशैलीले आगामी युवा पुस्ताकाे राजनीतिलाई थप शसक्त र बलियाे बनाउने संकेत देखिएकाे छ। शाहीकाे लाेभलाग्दाे आचरण,इमानदार साेच र जनमुखी कार्यशैलीले स्थानीय राजनीतिमा सकारात्मक सन्देश दिएकाे हाे। नागरिकहरु व्यक्तित्व,नैतिकता र काम हेरेर नेतृत्व राेज्ने दिशातर्फ अघि बढिरहेका छन्-जसकाे उदाहरणकाे रुपमा शाही देखिएका छन्।
बाजुराबाट सबैभन्दा कान्छो उम्मेदवारको रूपमा ३० वर्षीय उपेन्द्र विक्रम शाहीले स्थानीय राजनितिमा सकारात्मक सन्देश पैदा गरेका छन्।उनकाे याे आट,साहस र हुटहुटीकाे युवापुस्ताहरुले उच्च सम्मान गर्न आवश्यक देखिन्छ।शाहीले आफू समाजमा सकारात्मक सन्देश प्रवाह गर्न चुनावी मैदानमा हाेमिएकाे बताए ।युवाहरुकाे प्रतिनिधित्व गर्न र आगामी दिनमा युवा पुस्तालाई अघि बढाउन चुनावी मैदान राेजेकाे उनले जानकारी दिए।
उपेन्द्र शाहीलाई मत किन ?

बाजुराकाे स्वामिकार्तिक खापर गाउपालिका वडा.नम्बर ३ जुकाेट घर भएका अहिले बाजुराबाट प्रतिनिधि सभा सदस्यकाे लागी स्वतन्त्र उम्मेदवार बनेका युवा पुस्ताका हुटहुटी आशा र भराेसाका केन्द्र शाही चुनावी मैदानमा व्यस्त छन्।
राजनीति शक्ति होइन, सेवा हो भन्ने मान्यताका साथ जनताको सेवा गर्न र देशको विकासमा योगदान दिन चुनाबी मैदानमा आएका शाही स्वच्छ छवि,आदर्श र नैतिकवान् साेचका व्यक्ति हुन्। उनी अहिले कुशलापूर्वक जनताकाे घरदैलोमा भाेट अपिल गरिरहेका छन्।
अन्य पार्टीका राजनितीक दलका व्यक्ति ठुलाे तामझामका साथ नाराबाजी तथा मिडियाबाजी गरेर घरदैलो अभियान गरिरहेका छन्।भने शाही एक्लाएक्लै जनताकाे घरदैलाेमा पुगेर भाेटकाे अपिल गर्दै आएका छन्।उनकाे भाेट माग्ने कुशलता निकै प्रसंशा गर्न याेग्य देखिन्छ।
शाहीकाे आदर्शता,नैतिकता र बाजुरेली जनताका आशा र भराेसा केन्द्र भएकोले शाहीलाई मत दिन आवश्यक देखिन्छ।स्थानीय स्तरका समस्या,युवा पुस्ताकाे प्रतिनिधित्व र कुशल कर्मठ कार्य गर्न सक्ने हुटहुटीशाहीमा भएकोले उनलाई मतकाे अत्यन्तै आवश्यक छ।अब बाजुरेली जनताले युवा पुुस्तालाई अघि बढाउन जरुरी देखिन्छ।
नयाँ साेच र युवाकाे प्रतिनिधित्व,पुराना राजनीतिक अभ्यास भन्दा फरक,पारदर्शीता र जवाफदेहीतामा जाेड दिन सक्ने तथा अवसर विस्तारका एजेन्डा र स्वच्छ छवि र जनमुखी राजनीति शाहीमा भएकोले जनताकाे उनलाई साथ,सहयोग र मतकाे आवश्यक छ।शाहीमा नागरिकसंग प्रत्यक्ष भेटघाट,गुनासाे सुन्ने र प्रतिक्रिया दिने कुशल शैली छ।
उनले आफू व्यक्तिगत लाभभन्दा सार्वजनिक हितलाई प्राथामिकता दिने र भ्रष्टाचारविरुद्ध कडा अडानकाे थालनी गर्न तथा युवा पुस्ताकाे प्रतिनिधित्व हुने गरि चुनावी मैदानमा आएकाे बताउँछ आएका छन्।उनले भनेका छन्,“बाजुराले अब नेतृत्व परिवर्तन खाेजेकाे छ। युवा परिवर्तनका मुल धार हुन्।अब युवा पुस्तालाई अघि सार्न जरुरी छ।”
बाजुराकाे विकासमा स्पष्ट प्राथमिकता,यहाँको पुर्वाधार सम्भावनाकाे उजागर र विभिन्न समस्याहरुकाे पहिचान गरि समाधान गर्ने र हरेक समस्याहरुलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता शाहीमा भएकोले बाजुरेली जनताले उनलाई मत दिन आवश्यक छ।युवाकाे नेतृत्व अब बाजुरालाई मात्र हाेईन्,सिंगाे नेपाललाई चाहिएकाे छ।
पुराना दलहरुलाई चुनाैती:
पहिलेका निर्वाचन भन्दा अहिलेकाे निर्वाचनमा पक्कै पनि परिवर्तन हुने संकेत देखिएकाे छ।पुराना दलहरुलाई निकै चुनाैती थपिएको छ। बाजुराबाट स्वतन्त्र उम्मेदवारी दिएका उपेन्द्र शाही युवाहरूको भोट तान्ने रणनीतिमा छन्।शाही संगै युवाका हुटहुटी हेमराज थापालाई पनि युवाहरुकाे ठुलाे साथ छ।
उनले पनि युवाहरुबाट भाेट तान्ने रणनीति बनाएका छन्।बाजुरामा एक स्वतन्त्र सहित ७ राजनिती दलका व्यक्ति चुनावी मैदानमा छन्।बाजुराको अहिलेसम्मकाे चुनावी इतिहासकाे आँकलन गर्दा सधैँ नेपाली कांग्रेस र नेकपा एमालेबिच मुख्य प्रतिस्पर्धा हुदैँ आएकाे छ ।
विगतका निर्वाचनकाे परिणाम अनुसार कांग्रेस र एमाले दुवै दलको शक्ति लगभग बराबर स्थितिमा देखाउँछ।वि.सं.२०४८,२०५६,२०६४ र २०७९ सालका निर्वाचनमा नेपाली कांग्रेसले नतिजा आफ्नो कब्जामा पारेकाे थियो।त्यस्तै वि.सं.२०५१,२०७० र २०७४ सालमा नेकपा एमालेले जितेको थियो।२०७९ काे आँकलन गर्दा कांग्रेसले सहज जित निकालेकाे थियाे।
नेपाली कांग्रेसका बद्री प्रशाद पाण्डेले ३१ हजार ७८६ मत ल्याएर एमालेका कर्णबहादुर थापालाई पराजित गरेका थिए ।थापाले २६ हजार ३४९ मत पाएका थिए ।तर अहिलेकाे निर्वाचनमा यी दुबै दललाई जित हासिल गर्न हम्मेहम्मे हुने देखिन्छ। दुई ठुला दलहरुलाई नेकपा, रास्वपा, स्वतन्त्र लगायतले चुनाैती दिएका छन्।
पहिले कांग्रेस गठबन्धन सहित चुनावी मैदानमा थियाे ।तर अहिले एक्लै मैदानमा उत्रिएकाे छ। यता एमाले २०७९ काे बदला लिने गरि चुनावी मैदानमा छ।मुख्य गरी ४ दल र एक स्वतन्त्र विच प्रतिष्प्रर्धा हुने देखिन्छ। दुई पुराना दल कांग्रेस र एमालेकाे बर्चस्व ढलाउन गरि चुनाैती दिएर अन्य दल सक्रिय रुपमा लागेका छन्।
पूराना दलहरु देखि सम्पूर्णमा वितृष्णा जागेकाे बताउँछन्, जेनजी अगुवा खेमराज शाउँद। बाजुरेली जनतालाई अब युवाकाे खाँचो परेकाे उनकाे भनाई छ।शाउँद भन्छन्, ‘विगतमा जस्ताे निर्वाचन अब हुनु हुदैन्।पुराना दल कांग्रेस र एमालेकाे किल्ला ताेड्न जरुरी छ।जाे व्यक्ति स्थापित भए पनि बाजुरेली जनतालाई नयाँ अनुहार आवश्यक छ।’
किल्ला ताेडिने सम्भावना कति ?
पुराना दलहरुकै दबदबा र किल्ला मानिएकाे बाजुरामा उनीहरुकै जित सुनिश्चित जस्तै:देखिन्छ।तर जित्न भने त्यति सहज छैन्।हरेक नागरिकले नयाँ पुस्तालाई मत दिने धारणा राख्दै आएका छन्।तर निर्वाचनमा कसले-कसलाई मत दिने हुन् भन्ने कुरालाई गम्भीर रुपमा हेरिएकाे छ।
निर्वाचन नजिकैदैँ गर्दा चुनावी सरगर्मी निकै बढेकाे छ। हरेक ठाउँ,चाेक,अनि गल्लीहरुमा राजनीतिकै चर्चा परिचर्चा छ। पुराना दलहरुकाे किल्ला ताेडिने?या पुरानै दल स्थापित हुने ? कुरालाई गम्भीर रुपमा हेरिएकाे छ। पुराना दलहरुकाे किल्ला ताेड्न रास्वपाका हेमराज,नेकपाका प्रकाश र स्वतन्त्रबाट उपेन्द्र गहन रुपमा लागेका छन्।
एमाले छाेडेर नेकपामा गएका प्रकाश वहादुर शाह चुनाव जित्ने दाउमा छन्। तर जित हासिल गर्न सहज भने छैन्। यता प्रलाेपाका भुपेन्द्र डिसीले माओवादीको भोट प्रभाव पार्ने हुँदा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शाहको भोट पनि काटिन सक्ने सम्भावना देखिन्छ।साथै शाहलाई एमालेको संगठनबाट पनि बलियो साथै छैन्।त्यसैले माओवादीकाे भाेट नआउनु,एमालेकाे पनि राम्रोसँग साथ समर्थन नहुनुले शाहलाई चुनाैती उत्तिकै छ।
यता नेपाली कांग्रेसका जनकराज गिरीलाई पनि त्यति सहज भने छैन्। पहिले माओवादी,नेकपा एकीकृत समाजवादीको भोट पाएकाे कांग्रेस अहिले नपाउने अवस्था छ।त्याे पाउने भाेट नेकपाका प्रकाश शाहलाई जाने हुुँदा अघिल्लो निर्वाचन जस्तैःजित हासिल गर्न भने कांग्रेसलाई पनि त्यति सहज छैन्।
त्यस्तै एमालेमा पनि चुनौती नभएको होइन्।एमालेलाई समेत उत्तिकै चुनाैती छ। कतिपय एमालेले यता नेकपाका प्रकाश शाहलाई भाेट दिने देखिन्छ।पार्टीका रहँदा पार्टीकाे हक हित र उनले मन्त्री हुँदा गरेका राम्रा कार्यले एमालकाे मात्र नभई अन्यकाे मत समेत शाहलाई जाने देखिन्छ।त्यस्तै एमाले पार्टीभित्र असन्तुष्ट पक्षले शाहलाई मत दिने देखिन्छ ।
कांग्रेसका जनकराज गिरी पुर्व भुमिसुधार सहायकमन्त्री हुन्। एमालेका लाल बहादुर थापा निवर्तमान प्रतिनिधि सभा सदस्य हुन् ।भने नेकपाका प्रकाश बहादुर शाह सुदूरपश्चिम प्रदेश सभाका पूर्व संसदीय दलका नेता,तथा पुर्व आर्थिक मामिला मन्त्री हुन्।तिनै जनाले विभिन्न ठाउँमा प्रतिनिधित्व गरिसकेकाले कतिपयमा युवापुस्तालाई अघि सार्ने मत देखिएकाे छ।
यता रास्वपाका हेमराज थापा प्रमुख दलहरूलाई चुनौती दिने गरि खडा भएका छन्।त्यस्तै स्वतन्त्रका उपेन्द्र शाही पनि चुनाैतीका साथ खडा भएका छन्। हेमराज र उपेन्द्रलाई सिंगाे युवा पुस्ताकाे ठुलाे साथ मिलेकाे छ। तर यी दुबैले एक-आपसमा भाेट काटेर अन्य दलकालाई फाईदा हुने देखिन्छ। कतिपय युवा हेमराज र कतिपय युवा उपेन्द्रकाे पक्षमा छन्।
विगतका निर्वाचन भन्दा याे निर्वाचन पृथक हुने सामाजिक अगुवा माेती पाध्यायकाे भनाई छ।विगतका निर्वाचनमा सधैं कांग्रेस र एमालेबिच प्रतिष्प्रर्धा हुने ठाउँमा अहिले पुराना दललाई अन्य दलहरु चुनाैती बनेर खडा भएको बताए।‘अब पूराना दलहरु भन्दा पनि नयाँ दलहरुलाई मत दिनु पर्ने देखिन्छ।परिवर्तन खाेज्ने हाे भने,नेतृत्व समेत परिवर्तन हुन आवश्यक छ,’उनले भने ।
जुन जाेगी आए पनि कानै चिरेका ?
उसाे त बाजुरेली जनताहरु पुराना राजनीति दलदेखि वाक्कदिक्क छन्।यहाँबाट निर्वाचन जित्दै उच्च पदस्थमा कयौं व्यक्ति स्थापित भए ।तर बाजुरेली जनताका दुख जेनका तेन रहे। अझै भन्नू पर्दा बाजुरालाई मानव विकास सूचकांककाे पुछारबाट माथि उकास्न कसैले सकेनन्।
नेतृत्व फेरियाे तर बाजुरा फेरिएन।सधैंभर अभावै अभाव खट्किरह्याे।बाजुरेली जनताका दुख कहिल्यै फेरिएनन्।केही परिवर्तन हुन्छ भन्ने शाेचमा रहेका बाजुरेली जनताले कुनै परिवर्तनकाे आभास पाउन सकेनन्। अझै बाजुराका दुर-दरका समस्याहरु कहालिलाग्दा छन्।
हरेक निर्वाचनमा हाेमिएका व्यक्तिबाट जनताले विगतमा भोग्दै आएको समस्या समाधान हुन्छ भन्ने सोचमा रहे।तर समस्या समाधान हुन सकेनन्।अझै भन्नू पर्दा विकट गाउँघरतिर सामान्य उपचार सेवाबाट समेत यहाँका नागरिक बञ्चित छन्।हरेक नेतृत्वले आशा मात्रै देखाए?चुनाव जिते जनताका दु:ख कसैले देखेनन् ।
‘जुन जोगी आए पनि कानै चिरेका’ भनेझैँ बाजुरामा जुन नेतृत्व आए पनि कसैले बाजुराका दुख,कष्ट अभावकाे बिषयमा सिंहदरबारसम्म पुर्याउन सकेनन् ? चुनाकाे वेला व्यक्त गरिएका बाचा प्रतिबद्धतालाई कसैले पूरा गर्न सकेनन् ? जनता अहिले जाे आए पनि कसैले केही गर्न सक्दैनन् भन्ने पक्षमा अडिग छन्।
जनताकाे मत पुराना अनुहार भन्दा अब एकपटक नयाँ अनुहारलाई माैका दिने देखिन्छ।अब बाजुरेली जनतालाई यहाँका गरिबी,भाेकमरी,र बेरोजगारीकाे अन्त्य गर्न सक्ने नेतृत्व चाहिएकाे छ।जसले बाजुरा अभावै अभावकाे जिल्ला नभई सम्भावनाकाे जिल्ला भनेर स्थापित गर्न सकाेस् त्यस्ताे नेतृत्व बाजुरेली जनतालाई चाहिएकाे छ।
बाजुराले सांसद,मन्त्री पायाे तर विकासकाे अनुभूती पाएन्। जसले निर्वाचन जिते उनीहरुले भने अनुसार बाजुराकाे विकासमा चासाे देखाउन सकेनन् ? बाजुराका हरेक धार्मिक तथा पर्यटकीय क्षेत्रकाे उजागर हुन सकेन् ? जसले गर्दा यहाँका कयौं प्रचुर सम्भावना बाेकेका क्षेत्र अझै संरक्षण सम्बर्द्धन तथा प्रचार-प्रसारकाे पर्खाइमै रहे।
राज्यको नजरमा बाजुरा कहिल्यै पर्न सकेन्।बाजुराबाट प्रतिनिधित्व गरेर उच्च पदस्थमा पुगेकाहरुले बाजुराका सम्भावनाहरुकाे उजागर गर्न सकेनन्।आर्थिक विकासमा टेवा पुर्याउने कयौं सम्भावनायुक्त धार्मिक तथा पर्यटकीय क्षेत्र ओझेलमै परिरहे।अब बाजुरालाई यस्ताे नेतृत्व चाहियो जसले यहाँका उजागर हुन नसकेका क्षेत्रकाे उजागर गराेस्?यहाँका समस्याहरुलाई सिंहदरबारसम्म पुर्याई समस्या समाधान गर्न सकाेस् ?
अब हाम्रो भन्दा पनि बाजुरेली जनताले राम्रो नेतृत्व चुन्न जुरुरी देखिन्छ।नानाथरी भाषण र आश्वासन दिने जनताकाे आँखामा छाराे हाल्ने नेतृत्व हाेइन्,विकाशवादी नेतृत्वकाे आवश्यक छ।अब बाजुराकाे भाग्य र भविष्य काेर्न सक्ने अशल नेतृत्व नै विकासकाे मुल आधार हाे।बाजुरालेउच्च पदस्थका नेेता जन्मायाे तर कहिल्यै परिवर्तन पाएन्।
उहिँ गरिबी,भाेकमरी,अशिक्षा र विभिन्न पुर्वाधार विकासमा बाजुरा प्रताडित भईरह्याे।अझै अनेकौं दु:ख कष्ठ झेलेर यहाँका नागरिक बाँचिरहेका छन्।गरिव,दुखी जनता केवल भाेट बैंककाे रुपमा मात्रै प्रयाेग भए।उनीहरुका दु:ख पीडा कहिल्यै फेरिएन्?थुप्रै नेता सांसद भए मन्त्री भए, उनीहरु आफू फेरिए तर बाजुरा फेर्न सकेनन् ? के-हामीलाई परिवर्तन चाहिँदैन् ? जनताकाे प्रमुख प्रश्न यहिँ बन्ने गर्छ।
हालकाे परिस्थिति:
बाजुरामा एक स्वतन्त्र सहित ७ दलका व्यक्ति चुनावी मैदानमा छन्। मुख्य चार दलका व्यक्तिबिच राेचक प्रतिस्पर्धा हुने देखिएकाे छ।९ वटा स्थानीय तह रहेकाे बाजुरामा ८७ हजार बढि मतदाता कायम छन्।
४५ हजार ४ सय २८ पुरुष र ४२ हजार ४ सय ३१ महिला र अन्य २ जना मतदाता संख्या छन्।जिल्लामा हाल ७७ वटा मतदानस्थल र एक सय १८ वटा मतदान केन्द्र निर्धारण रहेकाे निर्वाचन कार्यालय बाजुराले जनाएको छ।
यस अघिका निर्वाचनहरु सधैं एमाले र कांग्रेसका उम्मेदवारले बाजी मार्दै आए पनि यस पटककाे निर्वाचनमा केही फरक हुने देखिएकाे छ । ०७९ को निर्वाचनमा कांग्रेसका ब्रदीप्रशाद पाण्डे निर्वाचित भएका थिए भने नेकपा एमालेका कर्ण बहादुर थापा पराजित भएका थिए ।
याे निर्वाचनमा केन्द्रविन्दुमा कांग्रेस र एमाले नै देखिएका छन् । तर कांग्रेस र एमालेलाई जित भने सहज छैन्।नेकपा प्रकाश शाह, रास्वपाका हेमराज थापा र स्वतन्त्रका उपेन्द्र शाही कांग्रेस र एमालेकाे लागी खम्बा भएर उभिएका छन्।जनताहरुले भने आ-आफ्नाे पार्टीलाई मत दिने निश्चित छ ।युवाहरुकाे समर्थन भने रास्वपाका उम्मेदवार हेमराज थापालाई छ।
बाजुराका ६२ वटा मतदान स्थललाई अति संवेदनशीलकाे सूचिमा राखिएको छ।सम्भावित जोखिम, विगतका निर्वाचन अनुभव, भौगोलिक अवस्था, राजनीतिक गतिविधि तथा स्थानीय परिस्थितिलाई आधार मानी सुरक्षा व्यवस्था कडाइ गरिने छ।बाजुरामा २०७९ सालकाे प्रतिनिधि सभा निर्वाचनमा दुई जनाले ज्यान समेत गुमाएका थिए।
मुख्यगरी यी अनुहार मध्ये कसले माला बाजी ?

जनकराज गिरी
नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका जनक गिरी कांग्रेसकाे अनुभवी नेताकाे रुपमा परिचित छन्। उनलाई पार्टी र देशकाे लाेकतान्त्रिक प्रक्रियालाई मजबुत पार्ने र जनतासंग सिधै संवाद राख्ने नेताकाे रुपमा लिईन्छ।
गिरी नेपाल सरकारका पूर्व भूमिसुधार सहायक मन्त्रीसमेत हुन्।उनी २०५६ सालमा प्रतिनिधि सभा सदस्य बनेेर भूमी सुधार तथा सहायक मन्त्री समेत बनेका थिए ।२०३८ सालदेखि विद्यार्थी राजनीति (नेविसंघ) मार्फत अहिलेसम्म उनी राजनीतिमा सक्रिय छन्।
विकासवादी,सादगी र निष्कलंक छवि भएका नेताको रूपमा गिरीलाई लगिन्छ।गिरी भर्खरै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा समेत चयन भएका हुन्।उनले समावेशी न्याय,लाेकतान्त्रिक पद्धति र शान्ति प्रक्रियाका बिषयमा आवाज बुलन्द गर्दै आएका छन्।
लाल बहादुर थापा
नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका नेता थापा निर्वतमान प्रतिनिधि सभा सदस्य हुन्।नेता थापा २०७४ सालकाे प्रतिनिधि सभा सदस्यकाे निर्वाचनमा बाजुराबाट निर्वाचित भएका थिए।
बाजुराकाे बुढीगंगा नगरपालिका घर भएका उनी नेकपा एमालेका अनुभवी र प्रभावशाली नेताकाे रुपमा चिनिन्छन्।जिल्ला स्तरमा पार्टी संगठन मजबुत बनाउन,कार्यकर्ता परिचालान तथा स्थानीय राजनितीक गतिविधिमा थापाकाे सक्रिय सहभागीता रहन्छ।
प्रतिनिधि सभा सदस्य भई संसदमा गईसके पश्चात् उनले बाजुराकाे विकासमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेका थिए। विकास याेजनाका साथै यहाँको शिक्षा,स्वास्थ्य, यातायात,सञ्चार लगायत अन्य पूर्वाधारका क्षेत्रमा महत्त्वपूर्ण सुधार समेत भएको थियाे।
कानुन बिषयकाे अध्ययन गरेका थापा अनेरास्ववियुकाे राजनिती यात्राबाट उदय भई अहिले सक्रिय रुपमा राजनिती यात्रामै जीवन व्यथित गर्दै आएका छन्।थापा २०५४ मा जिविस बाजुराका सभापति समेत थिए। संगठन परिचालन र सुदृढीकरणमा नेता थापाकाे अहम भूमिका रहने गरेकाे छ।
प्रकाश शाह
एमालेका प्रभावशाली नेता मानिएका प्रकाश बहादुर शाह एमाले परित्याग गरि नेपाली कम्युनिष्ट पार्टीबाट अहिले चुनाव लडीरहेका छन्। जिल्लामा एमाले संगठन विस्तार,परिचालन र सुदृढीकरणमा शाहकाे याेगदान जिवितै छ।
शाह तत्कालीन सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री समेत हुन्।एमालेका केन्द्रीय सदस्य समेत रहेका शाह एमाले परित्याग गरि नेकपामा आएका थिए। ओलीकाे अहंकारले एमाले परित्याग गरेकाे शाहले बताउँदै आएका छन्।
२०७४ पहिलो प्रदेशसभा कार्यकालमा बाजुराबाट निर्वाचित भई सुदूरपश्चिम प्रदेश सभा सदस्य, एमाले संसदीय दलको नेता बनेर करिब चार वर्ष अवधिसम्म आन्तरिक मामिला तथा कानुन,आर्थिक मामिला मन्त्री बनेका थिए।
शाह एमालेमा लगातार दुई पटक केन्द्रीय निर्वाचित नेता हुन् । उनी एमाले निकट अनेरास्ववियुको बाजुरा अध्यक्ष हुँदै एमाले जिल्ला कमिटी अध्यक्षसमेत बनेका थिए ।शाह प्रदेशमा मन्त्री हुँदा बाजुराकाे विकासका निमित्त कटिबद्ध भएर लागेका थिए।
शाहले बाजुरामा आमूल परिवर्तन समेत ल्याएका थिए । अहिले बाजुरामा विकासप्रेमी नेता भनेर शाहलाई मात्रै चिनिने गरिन्छ । शाहकाे लाेकप्रियता र मन्त्री हुँदा बाजुराकाे विकासमा पुर्याएकाे याेगदानका कारण जनता शाह प्रती निकै उत्साहित र सकारात्मक छन्।
हेमराज थापा
युवा पुुस्ताका हुटुहुटीका रुपमा परिचित छन् रास्वपाका उम्मेदवार हेमराज थापा ।साविकको ब्रमतोला गाविस-२ हालको बुढीगंगा नगरपालिका २ मा जन्मिएका हेमराजलाई गरिव,दुखी पिडित जनताकाे आवाज बुलन्द गर्ने व्यक्तिकाे रुपमा चिनिन्छ।
थापा दुखि पिडितकाे साहारा मात्र नभई बाजुराका हरेक समस्याहरुकाे उजागर गर्ने व्यक्तिकाे रुपमा पनि परिचित छन्। बाजुराका समस्या सिंहदरबारकाे मुल गेटसम्म पुर्याउन उनकाे ठुलाे भुमिका छ। लामो समयदेखि देशमा भईरहेकाे अन्याय,अत्याचार,अनियमितता, र भ्रष्टाचारका बिरुद्ध सडकबाट जनताको आवाज बाेल्ने व्यक्ति हुन् हेमराज ।
बाजुराका हरेक समस्या काठमाडौंमा उठान गर्ने तिनै प्रभावशाली युवा अहिले बाजुराबाट प्रतिनिधि सभा सदस्य निर्वाचनकाे लागी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट चुनावी मैदानमा छन्। बाजुरेली सम्पुर्ण युवाहरुकाे साथ हेमराजलाई मिलेकाे छ।थापा जनताको पक्षमा उभिएर आवाज उठाउने हुँदा जनता उनकाे पक्षमा छन्।
थापालाई निडर,प्रखर र अन्यायका विरुद्ध बाेल्ने व्यक्तिकाे रुपमा पनि लिईन्छ । थापाले अहिलेसम्म कयौं दुखी पिडितहरुलाई सहयाेग गरेका छन्। साथै उनले सहयाेग मात्र नभई सहानुभूति समेत प्रदान गर्ने गरेका छन्। तिनै युवा आगामी निर्वाचनकाे लागी हाेमिएका छन्।
उपेन्द्र शाही
प्रतिनिधि सभा निर्वाचनकाे लागी बाजुराका स्वतन्त्र उम्मेदवार उपेन्द्र शाही आदर्श र नैतिकवान् साेच भएका उम्मेदवारकाे रुपमा चिनिन्छन्।युवा पुस्ताकाे माझ शाही एक प्रभावशाली युवाहरुकाे रुपमा समेत परिचित छन्। समाजमा हुने हरेक सामाजिक कार्यका साथै समाजसेवा
समेत गर्दै आएका छन्।
युवा पुस्ताकाे प्रतिनिधित्व गर्दै शाही आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनकाे लागी चुनावी मैदानमा छन्।प्रष्ट,शसक्त र प्रखर युवाको रुपमा स्थापित भएर देश र समाज परिवर्तनको लागी शाही ठुला दलहरु संग सामान गर्न मैदानमा उत्रिएका छन्।बाजुरेली जनताको मुहार खुसी ल्याउने संकल्प सहित उनी अगाडी बढ्दै छन् ।
निर्वाचनमा चाहे हार होस्,चाहे जित होस्,तर जनताको मन भने जितको छन्।अभावै अभावमा रुमलिएको बाजुरालाई अभाव नभई सम्भावनायुक्त जिल्लाको रुपमा स्थापित गर्ने हुटहुटीका साथ खरो र दरो रुपमा देखिएका छन्।हरेक पार्टीहरुकाे समर्थन गरेर सामाजिक सद्भाव कायम गरि चुनावी प्रचार-प्रसार गर्ने शाहीकाे कार्यशैली निकै सम्मानजनक छ। उनले हरेक दलका व्यक्तिहरुलाई एक-आपसमा समन्वय र सहकार्यका साथ अघि बढ्नुपर्ने बताउँछन्।
साथै युवा पुस्ताहरुलाई समन्वयात्मक रुपमा सुझाव सल्लाह र प्रतिक्रिया दिन पनि आग्रह गर्छन्। शाही भन्छन्,“परिवर्तनको लागी युवा पुस्ताको खाँचो छ । हामी युवाहरू आज विभाजनको राजनीतिमा अल्झिरहेका छौँ। तर हामीले बुझ्नुपर्छ—पार्टी फरक हुन सक्छ, विचार फरक हुन सक्छ, तर देशका लागि सपना देख्ने युवा नेतृत्वको भावना एउटै हुन्छ। राजनीति गर्ने व्यक्तिमा आदर्श,नैतिकवान र ईमान्दारीता हुनुपर्छ।यी गुण नहुने व्यक्तिले राजनीति गर्न व्यर्थ छ।”

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर