
काठमाडौँ : नेपालका विभिन्न भेगमा सोमबार यस वर्ष जाडो सुरु भएयताकै सबैभन्दा कम तापक्रम रेकर्ड भएको छ । न्यूनतम तापक्रममा गिरावट आएसँगै देशभर चिसो महसुस गरिएको छ । योसँगै चिसोजन्य स्वास्थ्य समस्या पनि बढेकाले सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ ।

सोमबार जुम्लामा सबैभन्दा कम माइनस ६।३ डिग्री सेन्टिग्रेड न्यूनतम तापक्रम रेकर्ड भएको छ । आइतबार पनि त्यहाँको न्यूनतम तापक्रम सोही मात्रामा रहेको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार जनवरी ५ मा हालसम्मको सरदर न्यूनतम तापक्रम ४।९ डिग्री सेन्टिग्रेड रहेको छ । त्यस्तै जोमसोममा माइनस ४।२, जिरीमा माइनस १।१ न्यूनतम तापक्रम रेकर्ड भएको छ ।
काठमाडौँलगायत पहाडी भेगहरूको न्यूनतम तापक्रममा अत्यधिक गिरावट आएको छ । शनिबार ४।७ डिग्री सेन्टिग्रेड न्यूनतम तापक्रम रहेको काठमाडौँमा आइतबार ४ डिग्री हुँदै सोमबार ३।५ डिग्री सेन्टिग्रेड न्यूनतम तापक्रम रेकर्ड भएको छ । मौसमविद् डेबिड ढकालले भन्नुभयो, “यो यस दिनमा हुनुपर्ने सरदरभन्दा कम त हैन तर हालसम्मको कम तापक्रम भने हो ।” काठमाडौँमा यस दिनमा सरदर तापक्रम २।२ डिग्री मानिँदै आएको छ । त्यसै गरी डडेलधुरामा सोमबार २।१, दिपायलमा ४।४ डिग्री सेन्टिग्रेड न्यूनतम तापक्रम रेकर्ड भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी तराईको तुलनामा पश्चिम तराईमा चिसो अत्यधिक बढेको छ । सबैभन्दा बढी भैरहवामा उच्च दरमा न्यूनतम तापक्रम घटेर ७।४ डिग्री सेन्टिग्रेड पुगेको छ । त्यहाँ आइतबार ११।४ डिग्री सेन्टिग्रेड न्यूनतम तापक्रम थियो । त्यस्तै नेपालगन्ज र घोराहीमा ६।८, धनगढीमा ६।२ डिग्री सेन्टिग्रेड न्यूनतम तापक्रम कायम भएको छ ।
पश्चिमको तुलनामा पूर्वी तराईको न्यूनतम तापक्रम भने आइतबारको तुलनामा बढेको महाशाखाले औँल्याएको छ । आइतबार १२ डिग्री रहेको विराटनगरमा सोमबार बढेर १३।१ डिग्री सेन्टिग्रेड न्यूनतम तापक्रम पुगेको छ । त्यस्तै झापाको चन्द्रगढीमा आइतबार १३ डिग्री सेन्टिग्रेडबाट १३।३ डिग्री सेन्टिग्रेड न्यूनतम तापक्रम पुगेको छ । जनकपुर र सिमरामा भने यथावत्कै हाराहारीमा तापक्रम रहेको छ । चिसो बढेसँगै तराईमा हुने हुस्सु र कुहिरोमा पनि चिसोको मात्र बढेर थप कष्टकर हुने भएकाले सचेत रहन महाशाखाले अनुरोध गरेको छ ।
यसैबिच चिसो बढ्दै जाँदा आमनागरिकमा स्वास्थ्य समस्या बढेकाले सतर्कता अपनाउन सरकारका तर्फबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । विशेष गरी दीर्घरोगी, मुटु तथा दमरोगीका साथै गर्भवती, सुत्केरी महिला, वृद्धवृद्धा, साना बालबालिकालाई चिसोबाट जोगाउन भनिएको छ । घरभित्रै न्यानो राख्ने तथा विद्यालय पठाउँदा न्यानो कपडा र खानाको व्यवस्था गर्न भनिएको छ ।
कामकाजी व्यक्तिहरूले पनि चिसो हटाउने उपायहरू अपनाउँदै प्रशस्त तातो झोलिलो पदार्थको सेवन गरेर काम गर्न स्वास्थ्य मन्त्रालयले सुझाएको छ । वर्षा नहुँदा काठमाडौँलगायतका स्थानमा चिसोसँगै वायु प्रदूषण उच्च रहेकाले मास्क लगाएर मात्र यात्रा गर्न पनि मन्त्रालयले भनेको छ । चिसो र वायु प्रदूषणका कारण श्वासप्रश्वास तथा घाँटीको रोगमा असर गर्ने भएकाले सावधानी अपनाउन भनिएको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर