
काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाणको राजनीतिक भविष्यमाथि कालो बादल मडारिएको छ ।

भुटानी शरणार्थी प्रकरणमा तानिएपछि काठमाडौं प्रहरी परिसरको टोलीले खाणलाई बुधबार बिहान मैजुवहालस्थित उनकै निवासबाट पक्राउ गरेको हो । सांगठनिक तहमा पकड भएका खाण भ्रष्टाचार र ठगी काण्डमा मुछिएपछि उनको राजनीतिक जीवन नै संकटतिर धकेलिएको छ ।
२०३० सालदेखि विद्यार्थी राजनीति प्रारम्भ गरेका खाणको राजनीतिक उचाइ लोभलाग्दो थियो । तर उनलाई अब माथि उठ्न कठिन देखिन्छ । राजनीतिक यात्राका क्रममा पञ्चायतकालमा करिब २ वर्ष जेलजीवन बिताएका उनी अब भ्रष्टाचार र ठगी प्रकरणमा प्रहरीको नियन्त्रणमा पुगेका छन् ।
खाणको राजनीतिक छलाङमा यो प्रकरणले ठूलो धक्का दिने पक्का छ । यसले कांग्रेसभित्रको आन्तरिक राजनीतिमा पनि उलटफेर हुने देखिन्छ । उनी कांग्रेस सभापति शेरबहादुर देउवा र उप–सभापति पूर्णबहादुर खड्काका दरिलो खम्बा मानिन्छन् ।
२०५० साल अघिसम्म देउवा र खाण दुवै गिरिजाप्रसाद कोइराला निकट थिए । कोइरालाविरुद्ध देउवा उभिएपछि खाणले पनि साथ दिए । देउवाले २०५९ मा नेपाली कांग्रेस विभाजन गरी कांग्रेस प्रजातान्त्रिक गठन गर्दा खाण देउवासँगै उभिए । देउवा नेतृत्वको पार्टीमा उनी केन्द्रीय सदस्य बनेका थिए । तत्कालीन समयमा खाण नेतृत्वको सिङ्गो तरुण दल कांग्रेस प्रजातान्त्रिकमा आएको थियो । त्यस यता उनी देउवाको भरोसायोग्य पात्रमध्येको एक थिए ।
१४ औं महाधिवेशनमा महामन्त्रीका सशक्त दाबेदार मानिएका खाण देउवालाई सभापतिमा दोहोर्याउने मूल्यमा केन्द्रीय सदस्यमात्र बने । देउवा सभापतिमा पनि दोहोरिन सफल भए । खाण पक्राउ परेसँगै देउवाको उत्तराधिकारीका रुपमा भावी सभापतिका रुपमा हेरिएका उपसभापति खड्कालाई समेत ठूलो झट्का लागेको छ । किनकि खड्काका मुख्य खम्बाका रुपमा पनि खाणलाई लिने गरिन्छ ।
खाणलाई गृहमन्त्री बनाउन खड्काले नै जोडबल गरेका थिए । देउवा समूहमा सातै प्रदेश र समावेशी क्लस्टरमा खाणको जबरजस्त पकड छ । कांग्रेसमा खाणलाई भावी सभापतिका रुपमा हेरिएको थियो ।
देउवा समूहमा खाण, प्रवक्ता प्रकाशशरण महत, एनपी साउद र ज्ञानेन्द्र कार्कीबीच व्यक्तित्वको लडाइँ थियो । नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि खाणको ‘लिगेसी’ साउदतिर सर्ने चार्चा कांग्रेस वृत्तमा छ । पार्टी राजनीति र मन्त्री बन्न पनि देउवा समूहमा उनीहरुबीच उछिनपाछिन चलिरहेको थियो ।
२०६१ मा शिक्षा तथा खेलकुद राज्यमन्त्री बनेका खाण २०६६ मा सिँचाइ मन्त्री भएका थिए । त्यस्तै, २०७३ मा रक्षा मन्त्री भएका उनी २०७८ मा गृहमन्त्री बने । पार्टी राजनीतिमा उनको बलियो उपस्थिति थियो ।
२०४४ सालमा नेविसंघको केन्द्रीय अध्यक्ष र २०५४ सालमा नेपाल तरुण दलको केन्द्रीय अध्यक्ष भएका उनी २०५६ सालदेखि नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका थिए । केवल ३० वर्षको उमेरमै २०४८ मा उनी पहिलो पटक सांसद बनेका थिए । २०४८ सालमा रुपन्देही–३ बाट निर्वाचित भएका खाण २०५१ को मध्यावधि निर्वाचनमा भने पराजित भए । २०५६ मा चुनावी प्रतिस्पर्धा गरेका उनी २०६४ रुपन्देही–३ बाटै निर्वाचित भएका थिए ।
२०७० मा सोही क्षेत्रबाट विजयी भएका खाण २०७४ मा खाण समानुपातिक सांसद बनेका थिए । गत मंसिर ४ मा भएको निर्वाचनमा भने गृहमन्त्री रहेकै अवस्थामा खाण रुपन्देही–३ मा पराजित भए । सरकारमा दोस्रो वरीयतासहित गृहमन्त्री बन्दा राजनीतिक रुपमा बढेको उचाइँ चुनाव हारेपछि छायाँमा परेको थियो ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर