• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 16, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

अंग दान गरेर अरूलाई पुनर्जीवन दिनुस्

खप्तड मालिका न्युज March 10, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

२६ फागुन, काठमाडौं – ‘एक जनाले अंग दान गर्नुभएको छ । तपाईं तुरुन्तै आउनुपर्‍यो’ २८ वैशाख २०७४ मा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकी नर्सको यो सन्देशले दुवै मिर्गौला फेल भएर डायलासिस गराइरहेका मिलन श्रेष्ठमा आशा जगायो ।

निर्वाचन प्रचार-प्रसारका क्रममा दुर्घटनामा परेका फिक्कल गाउँपालिका खाङसाङ सिन्धुलीका ३० वर्षीय गोविन्दबहादुर भुजेलको ‘ब्रेन डेथ’ भयो । परिवार अंग दान गर्न तयार भयो । संयोग ! भुजेलको मिर्गौला १५ वर्षका मिलनलाई प्रत्यारोपण गर्न मिल्ने भयो ।

ब्रेन डेथ भएको मानिसको अंगबाट पुनर्जीवन पाउने नेपालको पहिलो व्यक्ति बने श्रेष्ठ । ‘बुवा तथा आफन्तको मिर्गौला प्रत्यारोपण गर्न मिलेन । मिर्गौलाको लागि वर्षौं भौंतारिएँ । यसरी पुनर्जीवन पाउँछु भन्ने कल्पनै थिएन’, श्रेष्ठ भन्छन् ।

दुई वर्षको उमेरमै श्रेष्ठको स्वास्थ्यमा समस्या देखिएको थियो । भारतमा चेकजाँच गर्दा पिसाबमा प्रोटिन लिकेजको समस्या देखिएपछि चिकित्सकले औषधि दिए । डाक्टरको सुझाव अनुसार समय-समयमै स्वास्थ्य परीक्षणका लागि भारत जान सम्भव भएन । नियमित औषधि त खाएका थिए, तर डोज नमिलेको कारण दुवै मिर्गौला फेल भयो । १२ वर्षकै उमेरदेखि नियमित डायलासिस गराउनुपर्ने भयो । तीन वर्षदेखि डायलासिस गराइरहेका उनले दुर्घटनामा परेर ब्रेन डेथ भएका भुजेलको मिर्गौला प्रत्यारोपणपछि भने सहज जीवन पाएका छन् ।

लाजिम्पाट बस्ने श्रेष्ठ अहिले बिजनेस म्यानेजमेन्ट विषय लिएर स्नातक तहको दोस्रो वर्षमा अध्ययन गरिरहेका छन् । भुजेलको परिवारले पनि श्रेष्ठमै देखेका छन् आफ्नो छोरा । सडक दुर्घटना लगायतका कारण ब्रेन डेथ भएकाहरूको अंग दान गर्ने हो भने श्रेष्ठ जस्ता सयौंलाई नयाँ जीवन दिन सकिन्छ ।

मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेका अनुसार नेपालमा हरेक वर्ष तीन हजार हाराहारीमा मिर्गौलाका नयाँ बिरामी थपिने गरेको अनुमान छ । त्यसैगरी, नेपालमा करिब ३० हजार मानिसमा मिर्गौलाको जटिल समस्या छ । मिर्गौला फेल भएपछि उपचारको दुईवटा मात्र विकल्प रहन्छन्- डायलासिस वा प्रत्यारोपण । स्वास्थ्य सेवा विभागको तथ्यांक अनुसार करिब ५ हजार मिर्गौला रोगीले निःशुल्क नियमित डायलासिस गराइरहेका छन् ।
निजी अस्पतालमा पैसा तिरेर वा रोगसम्बन्धी चेतना अभावमा रोग पालेर बस्ने गरेका संख्या जोड्दा अझै बढ्न सक्छ । ‘लाखौं मानिसको मिर्गौला बिग्रन थालिसकेको हुन्छ । लक्षण नभएकाले परीक्षणको दायरामा पनि आउँदैनन्’ डा. काफ्ले भन्छन्, ‘मिर्गौला दाताको अभाव, प्रत्यारोपणपछि हुने औषधि खर्च लगायत कारणले गर्दा धेरै मानिस डायलासिसको भरमा बाँच्नुपरेको छ ।’

हालसम्म नेपालमा २५०० भन्दा बढीलाई मिर्गौला प्रत्यारोपण गरिएको छ । मस्तिष्क मृत्यु भएकाहरूको अंग अन्यलाई प्रत्यारोपण गर्न सकिए धेरैले नयाँ जीवन पाउने डा. काफ्ले बताउँछन् । ‘नेपालमा आँखा दान सफलताका साथ अघि बढेको छ । तर आँखा दान गर्न रुचाउने परिवार नै मिर्गौला र कलेजो दानमा इच्छुक हुँदैनन्,’ मिर्गौला रोग विशेषज्ञ डा. काफ्ले भन्छन्, ‘खरानी भएर जाने वा गाड्ने अंग मृत्युको मुखमा पुगिसकेको व्यक्तिको जीवन बचाउँछ भने किन अंग दान नगर्ने भनेर भन्न, बुझाउनमा हामी चुक्यौं ।’

आठ जनाको जीवन बचाउन सकिन्छ !

नेपालमा पहिलो पटक ८ अगस्ट २००८ मा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण भएको थियो । सुरुका दिनहरूमा साँघुरो नाताको दायरामा मात्रै रहने गरी प्रत्यारोपणका लागि अंग लिन सकिने कानुनी व्यवस्था थियो । २०७२ फागुनमा मानव अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ संशोधनसँगै नाता प्रमाणीकरणको दायरा फराकिलो मात्र भएन, दुई परिवारबीच अंग साटासाट गर्ने र ब्रेन डेथ भएकाको अंग दान गर्ने बाटो खुल्यो ।

नेपालमा मिर्गौला, आँखाको नानी, कलेजो प्रत्यारोपण हुन्छ । मुटु, फोक्सो, प्यांक्रियाज र सानो आन्द्रा जस्ता अन्य अंगहरूको प्रविधि तथा जनशक्ति अभावका कारण प्रत्यारोपण सुरु हुनसकेको छैन । सरकारले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई मस्तिष्क मृत्युबाट हुने प्रत्यारोपणको समन्वय एकाइ तोकेको छ ।

अन्य अंगको तुलनामा आँखा धेरै दान भएको छ । तिलगंगा आँखा अस्पतालका आँखा बैंक प्रबन्धक शंकरनारायण त्वयनाका अनुसार हालसम्म १७ हजारभन्दा बढी नानी दानमा प्राप्त भएको छ भने एक लाखभन्दा बढीले इच्छापत्र भरेका छन् । १० हजारभन्दा धेरैले नानी प्रत्यारोपण गरेर नयाँ ज्योति पाएका छन् ।

अंग दान दुई प्रकारले गर्न सकिन्छ- जीवित दाताले गर्ने अंग दान र मृतकले गर्ने अंग दान । जीवित अवस्थामै कसैको ज्यान बचाउन एउटा मिर्गौला, कलेजोको केही खण्ड, फोक्सोको केही भाग लगायत अन्य दान गर्न सक्छन् ।

त्यस्तै ब्रेन डेथपछि मुटु, आँखा, फोक्सो, प्यांक्रियाज, मिर्गौला, सानो आन्द्रा, कलेजो, छाला लगायत अन्य अंग दान गर्न सकिन्छ । २८ वैशाख २०७४ मा मस्तिष्क मृत्यु भएपछि अंग दान गर्ने प्रक्रिया सुरु भयो । हालसम्म दुर्घटनामा परेर ‘मस्तिष्क मृत्यु’ भएका तीन जनाको अंग दानबाट ७ जनाले पुनर्जीवन पाएका छन् । जसमध्ये ६ जनामा मिर्गौला र एक जनामा कलेजो प्रत्यारोपण गरिएको छ । ‘मस्तिष्क मृत्यु भएपछि खेर जाने अंगले अर्को कसैलाई नयाँ जीवन दिन्छ । एक व्यक्तिबाट आठ जनाको जीवन बाँच्न सक्छ’ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ भन्छन्, ‘तर हामीले सोचे अनुसारको मानिसले अंग दान गरेका छैनन् ।’

अंग प्रत्यारोपण समन्वय समितिका संयोजक डा. कल्पनाकुमारी श्रेष्ठका अनुसार मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त हुने मिर्गौला प्रत्यारोपणका लागि ५६० र कलेजोका लागि १५ जनाभन्दा बढीले अंग पाउने आशमा नाम दर्ता गराएका छन् । ‘मस्तिष्क मृत्यु भएकाहरूबाट मिर्गौला, कलेजो प्रत्यारोपणका लागि नाम दर्ता गराउनेको संख्या ठूलो छ । त्यसको अनुपातमा अंग दान गर्ने मानिसको संख्या एकदमै कम छ’, डा. कल्पना भन्छिन् ।

अंगदान गर्न मान्दैनन् आफन्त

युरोप, अमेरिकालगायत विकसित देशमा ८० प्रतिशतभन्दा बढी अंग प्रत्यारोपण मस्तिष्क मृत्यु भएका व्यक्तिबाट हुने गरेको छ । नेपालमा जम्मा ७ जनाको ब्रेन डेथ (मस्तिष्क मृत्यु) पछि आफन्तले अंग दान गरेका छन् । आफ्नो मृत्युपछि अंग दान गर्न करिब दुई हजारले मञ्जुरीनामा दिएका छन् । किन यो संख्या कम छ त ? जनस्वास्थ्य विज्ञ तथा चिकित्सकहरू भन्छन्- जनचेतनाको अभाव हुनु । दोस्रो, मस्तिष्क मृत्यु भएको जानकारी नपाउनु ।

नेपालमा सडक दुर्घटनामा परेर हरेक वर्ष दुई हजारभन्दा धेरैको मृत्यु हुने गरेको छ । दुर्घटनामा परेर मृत्यु भएकामध्ये झण्डै आधाको मस्तिष्क मृत्यु हुने अनुमान छ । ‘मस्तिष्क मृत्यु भएका २०० जनाको मात्रै अंग दान गर्न सकेको खण्डमा ४०० वटा मिर्गौला, २०० फोक्सो तथा कलेजो प्राप्त हुन्छ । त्यति नै बिरामीलाई नयाँ जीवन दिन सकिन्छ,’ डा. पुकार भन्छन्, ‘यो सबैले मनन गर्ने हो भने अंग प्रत्यारोपणलाई सहज रूपले अगाडि बढाउन सकिन्छ ।’

चिकित्सकहरूका अनुसार टाउकोको गहिरो चोट, मस्तिष्कघात (स्ट्रोक), मस्तिष्क रक्तस्राव (ब्रेन हेमरेज), ब्रेन ट्युमरका कारण मस्तिष्क मृत्यु हुनसक्छ । तर दुर्घटनामा परेकाहरूको मस्तिष्क मृत्यु भएको समयमै पत्ता लगाउन सहज छैन । पत्ता लाग्दा पनि परिवारका सदस्यहरू अंग दान गर्न हत्तपत्त मान्दैनन् ।

वीर अस्पतालका न्युरो सर्जन डा. राजीव झा भन्छन्, ‘धेरैजसो मानिसमा जनचेतनाको अभाव छ । हामीले मस्तिष्क मृत्यु भएका बाँच्न सक्दैनन् भनेर बुझाउनै सक्दैनौं । बुझेका मानिसले पनि पीडामा परेका कारण अंग दान गर्न मान्दैनन् ।’

डा. झाका अनुसार ट्रमा सेन्टर तथा वीर अस्पतालमै महिनामा १०-१२ मस्तिष्क मृत्युका घटना हुन्छन् । कुनै पनि अस्पतालमा कुनै व्यक्तिको मस्तिष्क मृत्युको घोषणा हुने भएमा समन्वय एकाइलाई जानकारी दिनुपर्ने हुन्छ । सोही सूचनाको आधारमा सो एकाइले अंग झिक्नका लागि जनशक्ति खटाउने र प्राथमिकताका आधारमा अंग कसका लागि प्रयोग गर्ने भन्ने समेत निर्क्योल गर्छ ।
चार वर्षको अवधिमा सो एकाइमा अंग झिक्न भनेर जम्मा २१ वटा स्वास्थ्य संस्थाबाट फोन आएको छ । समन्वय समितिका संयोजक डा. कल्पना भन्छिन्, ‘१६ परिवारका आफन्तले अंग दिन चाहेनन् । बाँकी दुई जनाको ढिलो खबर आएकाले अंग प्रत्यारोपणका लागि योग्य देखिएन । अहिलेसम्म तीन जनाको मात्रै अंग निकालेका छौं ।’

डा. झाका अनुसार आफन्त गुमाएर शोकमा रहेकाहरूलाई अंग दानका लागि प्रस्ताव गर्न सहज छैन । ‘खराब नियतले यस्तो गरेको पो हो कि भनेर समेत सोच्छन्,’ उनी भन्छन्, ‘धार्मिक संस्कारका कारण आफन्तले अंग दान गर्न मान्दैनन् ।’

कुन अंग कति बेलासम्म सुरक्षित रहन्छ ?

मानव शरीरलाई नियन्त्रण गर्ने महत्वपूर्ण अंग मस्तिष्क हो । मस्तिष्क मृत्यु भएको घोषणा गर्न विभिन्न परीक्षण गर्नुपर्ने हुन्छ । मस्तिष्क मृत्यु भएको घोषणा गर्न पनि बिरामीको उपचारमा संलग्न रोगको सम्बन्धित विशेषज्ञ चिकित्सकसहित एक एनेस्थेसियोलोजिस्ट वा इन्टेन्सिभिष्ट रहेको चिकित्सकको टोलीबाट हुनुपर्ने हुन्छ ।

‘१२ घन्टाको अन्तरालमा दुई पटक परीक्षण गर्दा कुनै चिह्न नदेखिएको खण्डमा त्यसलाई मस्तिष्क मृत्यु भन्न सकिन्छ,’ वीर अस्पतालका डा. झा भन्छन्, ‘दिमाग बाहेक शरीरका अन्य अंगहरूले काम गरिरहेका हुन्छन्, तर बिरामीमा श्वास-प्रश्वास हुँदैन ।’

चिकित्सकहरूले मस्तिष्क मृत्यु भएको अवस्थालाई चिकित्सा विज्ञानले पूर्ण मृत्यु मान्छ । किनकि मस्तिष्क मृत्यु भएको खण्डमा कुनै पनि उपचारबाट बिरामीलाई सामान्य अवस्थामा फर्काउन सकिन्न । तर भेन्टिलेटरको सहायतामा शरीरका केही अंग चलायमान राख्न सकिन्छ । डा. झाका अनुसार मस्तिष्क मृत्यु भएको मानिसबाट अंग निकाल्नका लागि मुटु भने चलिरहेको हुनुपर्छ । त्यो अवस्थामा मृतकका आफन्तले अंग दान गर्न सक्छन् ।

त्यसका लागि मस्तिष्क मृत्यु भएपछि सम्बन्धित अस्पतालले राष्ट्रिय प्रत्यारोपण केन्द्रको समन्वय टोलीलाई खबर गर्नुपर्छ । केन्द्रबाट आएको टोलीले परिवार इच्छुक भएको अवस्थामा अस्पतालमा शल्यक्रिया गरी दान गरिएको अंग निकालेर लैजान्छन् र तत्काल अर्को बिरामीलाई प्रत्यारोपण गर्छन् ।

डा. पुकारका अनुसार ब्रेन डेथ भएकाहरूको शरीरबाट निकालिने मिर्गौला २४ घण्टासम्म प्रत्यारोपण गर्न मिल्छ । कलेजो १२ घन्टा, प्यांक्रियाज १० घन्टा र मुटु तथा फोक्सो चारदेखि ६ घण्टाभित्र प्रत्यारोपण गरिसक्नुपर्छ ।

अंग प्रत्यारोपण समन्वय समितिले सातै प्रदेशलाई लक्षित गरेर मस्तिष्क मृत्युबाट हुने अंग दान सम्बन्धी जनचेतना फैलाउन योजना अघि सारेको छ । स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको यो कार्यक्रम बजेटका लागि अर्थ मन्त्रालय पुगेको छ । ‘अर्थबाट स्वीकृत भएपछि हामी देशको दूरदराजमा गएर मस्तिष्क मृत्युको विषयमा अन्तरक्रिया, कार्यशाला, गोष्ठीलगायत कार्यक्रम सुरु गर्छौं,’ डा. कल्पना भन्छिन्, ‘जनस्तरमै चेतना बढाउन सके अंग दान बढ्छ ।’

यो समाचार आजको अनलाईन खबरमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑