
गाेविन्द्र राज तिमिल्सेना,बाजुराः देशैभरी चुनावी माहोल तिब्र भईरहेका बेला बाजुरामा पनि चुुनावी माहोल तीब्र बनेको छ।यहाँबाट उम्मेदवारी दिएका एक स्वतन्त्र सहित विभिन्न अन्य ७ दलका व्यक्ति अहिले घरदैलो अभियानमा व्यस्त छन्।

जनताको घरदैलोमा पुगेर भोट अपिल गर्न उम्मेदवारलाई भ्याइनभ्याई छ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा बाजुरामा मुख्य गरी ४ राजनीतिक दलको प्रतिस्पर्धा हुने देखिएको छ ।नेपाली कांग्रेस,नेकपा एमाले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिच मुख्य प्रतिस्पर्धा हुने देखिएको हो।
कांग्रेसका जनकराज गिरी, नेकपा एमालेका लाल बहादुर थापा,नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रकाश बहादुर शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापा मुख्यगरी चुनावी मैदानमा छन्।अहिले जिल्लामा यिनै चारजनाको माहोल छाईरहेको छ।कांग्रेस आफ्नो विरासत जोगाउने पक्षमा छ।
एमाले २०७९ को पराजयलाई विजयी बनाउने पक्षका साथ अघि बढिरहेको छ। त्यस्तै नेपाली कम्युनिष्ट पार्टी र रास्वपा पनि आफ्नो जित सुनिश्चित गर्न चुनावी अभियानमा अघि बढेका छन्। यो निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ।अघिल्लो निर्वाचनमा भने नेपाली कांग्रेसले सहज जित निकालेको थियो।
यो निर्वाचनमा कांग्रेस र एमालेलाई समेत चुनौती थपिएको छ। एमाले परित्याग गरि नेकपामा प्रवेश गरेका नेता प्रकाश शाह र सामाजिक अभियान्ता हेमराज थापाले दुई पुराना दल कांग्रेस र एमालेलाई चुनौती दिई रहेका छन्।एक निर्वाचन क्षेत्र रहेको बाजुरामा एक स्वतन्त्र सहित ७ राजनीतिक दलका व्यक्ति चुनावी मैदानमा छन्।
जनक गिरी
नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका जनक गिरी कांग्रेसको अनुभवी नेताको रुपमा परिचित छन्। उनलाई पार्टी र देशको लोकतान्त्रिक प्रक्रियालाई मजबुत पार्ने र जनतासंग सिधै संवाद राख्ने नेताको रुपमा लिईन्छ।
गिरी नेपाल सरकारका पूर्व भूमिसुधार सहायक मन्त्रीसमेत हुन्।उनी २०५६ सालमा प्रतिनिधि सभा सदस्य बनेर भूमी सुधार तथा सहायक मन्त्री समेत बनेका थिए ।२०३८ सालदेखि विद्यार्थी राजनीति नेविसंघ मार्फत अहिलेसम्म उनी राजनीतिमा सक्रिय छन्।
विकासवादी,सादगी र निष्कलंक छवि भएका नेताको रूपमा गिरीलाई लगिन्छ।गिरी भर्खरै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा समेत चयन भएका हुन्।उनले समावेशी न्याय,लोकतान्त्रिक पद्धति र शान्ति प्रक्रियाका बिषयमा आवाज बुलन्द गर्दै आएका छन्।
लाल बहादुर थापा
नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका नेता थापा निर्वतमान प्रतिनिधि सभा सदस्य हुन्।नेता थापा २०७४ सालको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा बाजुराबाट निर्वाचित भएका थिए।
बाजुराको बुढीगंगा नगरपालिका घर भएका उनी नेकपा एमालेका अनुभवी र प्रभावशाली नेताको रुपमा चिनिन्छन्।जिल्ला स्तरमा पार्टी संगठन मजबुत बनाउन,कार्यकर्ता परिचालान तथा स्थानीय राजनितीक गतिविधिमा थापाको सक्रिय सहभागीता रहन्छ।
प्रतिनिधि सभा सदस्य भई संसदमा गईसके पश्चात् उनले बाजुराको विकासमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेका थिए। विकास योजनाका साथै यहाँको शिक्षा,स्वास्थ्य,यातायात, सञ्चार लगायत अन्य पूर्वाधारका क्षेत्रमा महत्त्वपूर्ण सुधार समेत भएको थियो।
कानुन बिषयको अध्ययन गरेका थापा अनेरास्ववियुको राजनिती यात्राबाट उदय भई अहिले सक्रिय रुपमा राजनिती यात्रामै जीवन व्यथित गर्दै आएका छन्।थापा २०५४ मा जिविस बाजुराका सभापति समेत थिए। संगठन परिचालन र सुदृढीकरणमा नेता थापाको अहम भूमिका रहने गरेको छ।
प्रकाश शाह
एमालेका प्रभावशाली नेता मानिएका प्रकाश बहादुर शाह एमाले परित्याग गरि नेपाली कम्युनिष्ट पार्टीबाट अहिले चुनाव लडीरहेका छन्। जिल्लामा एमाले संगठन विस्तार,परिचालन र सुदृढीकरणमा शाहको योगदान जिवितै छ।
शाह तत्कालीन सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री समेत हुन्।एमालेका केन्द्रीय सदस्य समेत रहेका शाह एमाले परित्याग गरि नेकपामा आएका थिए। ओलीको अहंकारले एमाले परित्याग गरेको शाहले बताउँदै आएका छन्।
२०७४ पहिलो प्रदेशसभा कार्यकालमा बाजुराबाट निर्वाचित भई सुदूरपश्चिम प्रदेश सभा सदस्य, एमाले संसदीय दलको नेता बनेर करिब चार वर्ष अवधिसम्म आन्तरिक मामिला तथा कानुन,आर्थिक मामिला मन्त्री बनेका थिए।
शाह एमालेमा लगातार दुई पटक केन्द्रीय निर्वाचित नेता हुन् । उनी एमाले निकट अनेरास्ववियुको बाजुरा अध्यक्ष हुँदै एमाले जिल्ला कमिटी अध्यक्षसमेत बनेका थिए ।शाह प्रदेशमा मन्त्री हुँदा बाजुराको विकासका निमित्त कटिबद्ध भएर लागेका थिए।
शाहले बाजुरामा आमूल परिवर्तन समेत ल्याएका थिए । अहिले बाजुरामा विकासप्रेमी नेता भनेर शाहलाई मात्रै चिनिने गरिन्छ । शाहको लोकप्रियता र मन्त्री हुँदा बाजुराको विकासमा पुर्याएको योगदानका कारण जनता शाह प्रती निकै उत्साहित र सकारात्मक छन्।
हेमराज थापा
युवा पुुस्ताका हुटुहुटीका रुपमा परिचित छन् रास्वपाका उम्मेदवार हेमराज थापा ।साविकको ब्रमतोला गाविस- २ हालको बुढीगंगा नगरपालिका २ मा जन्मिएका हेमराजलाई गरिव,दुखी पिडित जनताको आवाज बुलन्द गर्ने व्यक्तिको रुपमा चिनिन्छ।
थापा दुखि पिडितको साहारा मात्र नभई बाजुराका हरेक समस्याहरुको उजागर गर्ने व्यक्तिको रुपमा पनि परिचित छन्। बाजुराका समस्या सिंहदरबारको मुल गेटसम्म पुर्याउन उनको ठुलो भुमिका छ। लामो समयदेखि देशमा भईरहेको अन्याय,अत्याचार,अनियमितता, र भ्रष्टाचारका बिरुद्ध सडकबाट जनताको आवाज बोल्ने व्यक्ति हुन् हेमराज ।
बाजुराका हरेक समस्या काठमाडौंमा उठान गर्ने तिनै प्रभावशाली युवा अहिले बाजुराबाट प्रतिनिधि सभा सदस्य निर्वाचनको लागी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट चुनावी मैदानमा छन्। बाजुरेली सम्पुर्ण युवाहरुको साथ हेमराजलाई मिलेको छ।थापा जनताको पक्षमा उभिएर आवाज उठाउने हुँदा जनता उनको पक्षमा छन्।
थापालाई निडर,प्रखर र अन्यायका विरुद्ध बोल्ने व्यक्तिको रुपमा पनि लिईन्छ । थापाले अहिलेसम्म कयौं दुखी पिडितहरुलाई सहयोग गरेका छन्। साथै उनले सहयोग मात्र नभई सहानुभूति समेत प्रदान गर्ने गरेका छन्। तिनै युवा आगामी निर्वाचनको लागी होमिएका छन्।
स्थिति:
बाजुरामा एक स्वतन्त्र सहित ७ दलका व्यक्ति चुनावी मैदानमा छन्। मुख्य चार दलका व्यक्तिबिच रोचक प्रतिस्पर्धा हुने देखिएको छ।९ वटा स्थानीय तह रहेको बाजुरामा ८७ हजार बढि मतदाता कायम छन्।
४५ हजार ४ सय २८ पुरुष र ४२ हजार ४ सय ३१ महिला र अन्य २ जना मतदाता संख्या छन्।जिल्लामा हाल ७७ वटा मतदानस्थल र एक सय १८ वटा मतदान केन्द्र निर्धारण रहेको निर्वाचन कार्यालय बाजुराले जनाएको छ।
यस अघिका निर्वाचनहरु सधैं एमाले र कांग्रेसका उम्मेदवारले बाजी मार्दै आए पनि यस पटकको निर्वाचनमा केही फरक हुने देखिएको छ । ०७९ को निर्वाचनमा कांग्रेसका ब्रदीप्रशाद पाण्डे निर्वाचित भएका थिए भने नेकपा एमालेका कर्ण बहादुर थापा पराजित भएका थिए ।
यो निर्वाचनमा केन्द्रविन्दुमा कांग्रेस र एमाले नै देखिएका छन् । तर कांग्रेस र एमालेलाई जित भने सहज छैन्।नेकपा प्रकाश शाह र रास्वपाका हेमराज थापा कांग्रेस र एमालेको लागी खम्बा भएर उभिएका छन्।जनताहरुले भने आ(आफ्नो पार्टीलाई मत दिने निश्चित छ ।युवाहरुको समर्थन भने रास्वपाका उम्मेदवार हेमराज थापालाई छ।
बाजुराका ६२ वटा मतदान स्थललाई अति संवेदनशीलको सूचिमा राखिएको छ।सम्भावित जोखिम, विगतका निर्वाचन अनुभव, भौगोलिक अवस्था, राजनीतिक गतिविधि तथा स्थानीय परिस्थितिलाई आधार मानी सुरक्षा व्यवस्था कडाइ गरिने छ।बाजुरामा २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा दुई जनाले ज्यान समेत गुमाएका थिए।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर