
मिन बहादुर खड्का बाजुरा – जिल्लामा बुढीगंगा नगरपालिकाको वडा न. ५ फालासैनमा रहेको बडिमालिका क्याम्पस, बडिमालिका वडा ८ मा रहेको बाजुरा क्याम्पस र बुढिनन्दा नगरपालिकामा अवस्थित बुढिनन्दा क्याम्पस गरि तीन वटा मात्र क्याम्पस रहेका छन् । देशभर चैत्र ८ गते स्ववियु निर्वाचन भैई मतपरिणाम समेत सार्वजनिक भैसकेको छ । तर जिल्लाका दुई वटा क्याम्पसमा भने स्ववियु निर्वाचन अनिश्चित छ ।

बाजुरा क्याम्पस र बडिमालिका क्याम्पसमा निर्वाचन अनिश्चित छ भने यता बुढिनन्दा क्याम्पसमा चैत्र ५ गते भएको स्ववियु निर्वाचनमा तीन दलिय गठबन्धनका विद्यार्थी र अनेरास्ववियुका विद्यार्थी बिच मतदानका क्रममा झडप हुँदा निर्वाचन स्थगित भएको थियो । मतदान स्थगित पश्चात् सो क्याम्पसमा पनि मतगणना अनिश्चित छ । मतगणना गराउने अथवा पुनः निर्वाचन गराउने भन्ने कुरामा क्याम्पस प्रशासन नै अन्यौलमा देखिन्छ । बडिमालिका क्याम्पस फालासैनमा अनेरास्ववियुले क्याम्पस प्रशासनले आफु निकटका विद्यार्थीहरु धामाधम भर्ना गरेको आरोप सहित क्याम्पस कार्यालयमा तालाबन्दी गरेको थियो । जुन ताला आज सम्म पनि खुलेको छैन ।
यता बाजुरा क्याम्पसमा पनि नेविसंघले पनि क्याम्पस प्रमुखबाटै राजनीति चलखेल भएको र रातारात लेखापाल नहुदा पनि धमाधम विद्यार्थी भर्ना गरेको भन्दै क्याम्पस प्रशासनमा तालाबन्दी गरेको थियो । उक्त तालाबन्दी भने क्याम्पस प्रशासन र विद्यार्थी संगठन बीच सहमति पश्चात् दश दिनपछि मात्र खोलिएको छ । तालाबन्दी खुलेपछि केही दिनमा निर्वाचनको मिती सार्वजनिक गर्ने भनिएको भएपनि मिती सार्वजनिक हुन सकेको छैन । स्ववियु निर्वाचन कहिले गर्ने भन्ने बिषयमा क्याम्पस प्रशासन नै अन्यौलमा देखिएको छ ।
के भन्छन् त क्याम्पस प्रमुख सुरेश प्रशाद पण्डित ?
यता बाजुरा क्याम्पसका क्याम्पस प्रमुख सुरेश प्रसाद पण्डितले विद्यार्थीहरु आफैले आपसी सहमति नगरेसम्म क्याम्पस प्रशासनले ठोस निर्णय गर्न नसक्ने बताएका छन् । क्याम्पस प्रमुख पण्डितले आफु माथी लगाईएका आरोपहरु स्वीकार्य नभएको जिकिर गरेका छन् । क्याम्पस प्रमुखले राजनीति चलखेल गर्ने कुरा अस्वभाविक भएको बताउदै यो आफ्नो नैतिकताले समेत यस्तो कार्य गर्न नपाउने बताए । आफु बाट कुनै किसिमको विद्यार्थी बिच विभेद नभएको उहाँको भनाई छ । क्याम्पस लेखापाल र प्रशासन सहायक नहुँदा पनि उल्टै सहजीकरण गरिदिदा पनि आलोचना खेप्नु परेको उनले बताए ।जतिसक्दो छिटो विद्यार्थीहरु बिच सहमति गराई निर्वाचन गराउन क्याम्पस प्रशासन लागिरहेको पनि उनले दावी गरेका छन् ।
के भन्छन् बडिमालिका क्याम्पस फालासैनका क्याम्पस प्रमुख वीर बहादुर कटुवाल ?
क्याम्पसमा तालाबन्दी खोल्ने बारे सहमतिको प्रयासमा रहेको क्याम्पस प्रमुख बिर बहादुर थापाले विद्यार्थीहरु क्याम्पस प्रशासन माथि लगाएका आरोपहरुका बिषयमा सर्वदलीय बैठक बोलाई स्प्रस्ट पारिसकेको बताएका छन् । विद्यार्थीहरु लगायका आरोपहरुमा कुनै सत्यता नभएको उनले जिकिर गरेका छन् । सर्वदलीय बैठक पश्चात् विद्यार्थीहरु समेत तालाबन्दी खोल्न सहमत भैसकेको अवस्थामा पार्टीका नेताहरूको निर्देशनमा तालाबन्दी खुल्न नसकेको आरोप लगाएका छन् । क्याम्पस प्रशासन माथी लगाइएका झुटा आरोपहरुका बिषयमा सर्वदलीय बैठकमै सवै कुरा प्रष्ट पारिसकेका कारण अब मागहरू पूरा गर्ने भन्ने कुरै नरहेको उनले बताए ।
पार्टीकै नेताहरूको निर्देशनमा तालाबन्दी गरिएको पनि एक श्रोतले बताएको छ । केही विद्यार्थीहरु तालाबन्दी खोलेर स्ववियु निर्वाचन हुनुपर्ने पक्षमा भएपनि पार्टीका नेताहरुको दबाबमा तालाबन्दी खुल्न नसकेको पनि श्रोतको दावी छ ।
अनेरास्ववियु निकट विद्यार्थीहरु बिच समेत मतभेद देखिएको खुलेको छ । अवको केही दिनमा सहमति गरेर तालाबन्दी खोल्ने र स्ववियु निर्वाचन जतिसक्दो छिटो गराउनु प्रयास भैइरहेको क्याम्पस प्रमुख कटुवालको भनाई छ । तर अनेरास्ववियु निकट एक विद्यार्थीले भने आफ्ना मागहरू पुरा नभएसम्म तालाबन्दी जारी राख्ने बताएका छन् ।
बुढिनन्दा क्याम्पसमा मतगणना अनिश्चित:
बुढीनन्दा क्याम्पसमा भने चैत्र ५ गते चुनाव भएको थियो । चुनावी मैदानमा विवाद बढेर झडपको स्थिति सिर्जना भएपछि निर्वाचन अधिकृतले चुनाव स्थगित गरेका थिए । मतदान स्थलमा पुगेका विद्यार्थीलाई मतदान गर्न दिनु पर्ने सत्ता गठबन्धनका विद्यार्थी संगठनको माग थियो, भने मतदान स्थल बाहिर रहेकालाई समेत भित्र पसाएर सबैले मतदान गराउनु पर्ने, खसेको मतलाई नै गणना गर्नु पर्ने माग अनेरास्ववियुको छ । हाल सम्म मतगणना गर्ने कि पुनः निर्वाचन गर्ने भन्ने बिषयमा क्याम्पस प्रशासन नै जिम्मेवार देखिदैन ।
पुनः निर्वाचनको पक्षना नेविसंघ:
सो क्याम्पसमा पुनः निर्वाचन हुनुपर्ने माग नेपाल विद्यार्थी संघ लगायतका तीन दलिय गठबन्धनमा आवद्ध विद्यार्थीहरुले गरिरहेका छन् । निर्वाचनको दिन नगरपालिकाको भित्री षड्यन्त्रमा सुरक्षा निकाय समेत मौन बसेको र अनेरास्ववियुले नै सुरुमा धादलीको स्थिति सिर्जना गराएको नेपाल विद्यार्थी संघको आरोप छ । यतिमात्र होइन निर्वाचनमा पराजित हुने पक्का पक्की भएपछि बाहिरबाट विद्यार्थी बाहेकका पार्टीका कार्यकर्ता समेत गएर धादली गरि निर्वाचन स्थगित गराएको आरोप नेपाल विद्यार्थी संघको छ । त्यसकारण पुनः मतदान हुनुपर्ने र यहीँ अवस्थामा मतगणना भएमा मतगणना भएमा तीन दलिय गठबन्धन सहभागी नहुने अडानमा छ ।
मतगणना गर्नुपर्ने माग अनेरास्ववियुको:
यता अनेरास्ववियु बाजुरा भने मतगणनाको पक्षमा रहेको छ । यहीँ अवस्थामा मतगणना हुनुपर्ने र पुनः निर्वाचनमा आफुहरु भाग नलिने अनेरास्ववियुका विद्यार्थीको अडान छ । कुल ४१२ मत मध्ये खसेको २५२ मत गणना गर्नु पर्ने माग सहीत अनेरास्ववियुले क्याम्पसमा तालाबन्दी गरेको अनेरास्ववियु बाजुरा श्रोतले बताएको छ । यतिबेला भने परिक्षा सुचारु भएका कारण तालाबन्दी खोलिएको बताइएको छ ।
के भन्छ त क्याम्पस प्रशासन?
बुढिनन्दा क्याम्पस प्रशासनले भने क्याम्पस प्रमुख र लेखापाल काम विशेष बाहिर गएकाले केही समय ढिलाई भएपनि अवको केही दिनमा सर्वदलीय बैठक बसेर निष्कर्षमा पुग्ने जनाएको छ । क्याम्पसमा लगाइएको तालाबन्दी भने परिक्षा संचालन भएका कारण खोलिएको र अन्य कुरा भने सहमति र छलफल भैरहेको बताइएको छ । पुनः निर्वाचन हुने अथाह मतगणना हुने भन्ने कुरा अहिले नै भन्न नसकिने र सर्वदलीय बैठक बसेर मात्र ठोस निर्णय लिने बताइएको छ ।
विद्यार्थी नेताहरु एक पक्षले अर्को पक्षको आलोचना गर्नमै व्यस्त :
जित्नकै लागि प्रक्रिया विपरित, गलत बाटोबाट विद्यार्थी भर्ना गरिएको आरोप सहीत बाजुुरा र बडीमालिका क्याम्पसमा विद्यार्थी संगठनले तालाबन्दी गरेपछि चैत्र ८ गते हुने निर्वाचन अनिश्चित बनेको हो। बाजुरा क्याम्पस र बुढिनन्दा क्याम्पसमा तालाबन्दी खुलेपनी बडिमालिका क्याम्पसमा भने ताला कहिले खोल्ने र कस्ले खोल्नका लागि पहल गर्ने भन्नेमा समेत निश्चित छैन । क्याम्पसमा तालाबन्दी हुँदा पठनपाठन समेत प्रभावित बनेको छ । तर क्याम्पस प्रशासन भने मौन बसेको सर्वसाधारणको गुनासो छ ।
शैक्षिक संस्थाको पठन पाठन समेत प्रभावित पार्ने गरि क्याम्पसमा तालाबन्दी गरिदा समेत जिम्मेवार पक्ष नै मौन बसेको आरोप छ ।यता प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले सबै दल र क्याम्पससँग संवाद भैरहेको बताउदै आएका छन् । तालाबन्दी सुचारु गर्ने बारे केही दिनमै सहमति हुने भनिएको भएपनि दुई क्याम्पसमा तालाबन्दी खुलेका छैनन् । क्याम्पसमा समेत यतिसम्मको राजनीति हुनु दुखत विषय भएको जानकारहरु बताउन्छन् सवैको समझदारीमा सहमतिमा पुग्ने वातावरण अघि बढ्न आवस्यक रहेको सर्वसाधारणको बुझाई छ ।
परिवर्तनका निमित्त लड्ने विद्यार्थीको हक हितका लागि आवाज उठाउने परिवर्तनको सम्भावक भनेर चिनिने विद्यार्थी संगठन नै पदका लागि तछाडमछाड गरिरहेका छन् । निर्वाचन जित्ने दाउमा एक पक्षले अर्को आलोचना गर्न आरोप प्रतिआरोपमै व्यस्त देखिएका छन् । विद्यार्थी संगठन बरु निर्वाचन नहोस् तर आआफ्ना अडान नछाड्ने पक्षमा देखिन्छन् ।
विद्यार्थीहरु बीच सहमति हुने सम्भावना निकै कम देखिन्छ । सहमति गरेर जाने कुरा भन्दा आफ्ना मागहरु पूरा हुनुपर्नेमा मात्र विद्यार्थी संगठनका नेताहरू देखिन्छन् । निर्वाचनका समयमा चर्चा परिचर्चाको जिल्ला बन्ने बाजुरालाई विद्यार्थी संगठनले पनि कायम गरेको कतिपयले बताउँदै आएका छन् । कतिपयले त विद्यार्थीकाअग्रज नेतृत्वले सिकायको पाठ हो भन्दै गिज्याई रहेका छन् । तर विद्यार्थी संगठनका नेताहरुलाई भने यो कुरामा ध्यान पुगेको देखिदैन ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर