
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथाः

‘विश्वभरका नौ हजार व्यक्तिको नाम मनोनयन हुँदै छ। तपाईंको नाम पनि छ। तर तपाईंको नाम फाइनलमा पुग्छ कि पुग्दैन भन्ने थाहा छैन। जुन २६ सम्म यो कुरा गोप्य राख्नू होला।’सन् २०१९ मा भूमिका श्रेष्ठको इमेलमा यस्तो सन्देश आयो।
उक्त सन्देश बेलायती संस्था ‘एपोलिटकल’ ले लैंगिक समानताका लागि संघर्षरत सय जना प्रभावशाली व्यक्तिहरूको नाम सार्वजनिक गर्ने सम्बन्धमा थियो।
नभन्दै भूमिका फाइनलमा पुगिन्। सन् २०१९ मा ‘एपोलिटिकल्स’ को लैंगिक समानतासम्बन्धी सय जना प्रभावशाली व्यक्तिहरूको सूचीमा छानिइन्।
विश्वका केही प्रसिद्ध व्यक्तिहरूसँगै आफ्नो नाम परेपछि भूमिकामा खुसीको सीमा रहेन। आफ्नो संघर्षको सम्मान भएको ठानिन्।
‘लैंगिक समानताको क्षेत्रमा नीति निर्माणका लागि मैले निर्वाह गरेको सकारात्मक भूमिकाको आधारमा मेरो नाम उक्त सूचीको फाइनलमा छनोट भएको थियो,’ उनले सेतोपाटीसँग भनिन्।
भूमिका सहजै उक्त सूचीमा समावेश भएकी होइनन्। अनेक अपमान र हप्की सहँदै, हन्डर र ठक्कर खाँदै त्यहाँ पुगेकी हुन्।
सामाजिक सञ्जालमा ‘भूमिका श्रेष्ठ’ लेखेर खोज्दा उनको विवरण फरर देखा पर्छ। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा उनी ‘आइडल’ नै मानिएकी छन्।
हालको चन्द्रागिरि नगरपालिकामा पर्ने नैकापको एक नेवार परिवारमा ३४ वर्षअघि एक बालकको जन्म भयो। छोरो जन्मियो, परिवारमा खुसी छायो। बालकको नाम राखियो कैलाश श्रेष्ठ।
कैलाश जसै हुर्किँदै गए, उनको आनीबानी परिवर्तन हुँदै गयो। पाँच वर्षकै उमेरमा दिदीको स्कर्ट लगाएर सजिन र ओठ लिपिस्टिकले रंगाउन मन पराउँथे। सुरूका यी दिनमा परिवारजनले बालसुलभ व्यवहार ठाने, त्यसमा खासै ध्यान दिएनन्।
नेवार समुदायमा रजस्वला हुनुअघि छोरीलाई ‘गुफा राख्ने’ परम्परा छ। कैलाश पनि गुफा बस्छु भन्थे।
शारीरिक रूपमा कैलाश छोरा थिए तर उनी छोरीजस्तै बन्न चाहन्थे। मनमा छोरी बन्ने चाहना भए शरीर त छोराकै थियो। खासमा उनी म आफू छोरो हुँ कि छोरी भन्नेमै अलमलमै थिए।
उमेर बढ्दै जाँदा कैलाशको मनभित्र छोरीजस्तै बन्ने चाहना दिनप्रतिदिन गाढा हुँदै गयो।
छोराको स्वभावबाट अन्योलमा परेकी आमाले एक दिन भनिन्, ‘राम्रो पढेर राम्री बुहारी ल्याउनुपर्छ।’
कैलाशले फ्याट्टै भनिदिए, ‘म त बुहारी होइन, ज्वाइँ ल्याउँछु।’
‘आमाले बुहारी ल्याउनुपर्छ भन्दा म बुहारी होइन ज्वाइँ ल्याउँछु भन्थेँ,’ उनले सानै बेलाको कुरा सुनाउँदै भनिन्, ‘मेरो कुराले आमा झस्किनुभएको थियो। अरू पनि अचम्म परे। परिवारमा अन्योल नै छायो।’
आमाको मन न हो, हैरान थियो। आमाले छोराको आनीबानी र मनोभाव गहिरोसँग नियाल्न थालिन्। छोरालाई बुझ्ने र घरमा वातावरण सहज बनाउने प्रयास गरिन्।
कैलाशका लागि समाज, साथीसमूह र विद्यालय भने सहज हुन सकेनन्।
‘घरबाट निस्किएपछि बाटोमा मलाई छक्का, हिजडा, पुलिंग भन्दै उपहास गर्थे,’ भूमिकाले त्यो बेला आफूहरूले सुनेका शब्दहरू सुनाइन्, ‘ती शब्दका अर्थमा पनि म अनभिज्ञ थिएँ। तर मलाई नै भनेको हो भन्ने थाहा पाउँथेँ।’
नौ कक्षामा पढ्दै गर्दा कैलाश विद्यालयबाट निष्कासित गरिए। कारण- उनको प्राकृतिक शरीरसँग नमिल्ने विपरीत स्वभाव।
विद्यालयबाट निकालिएपछि उनी विचलित भए। आफूलाई समाल्न कठिन हुँदै जाँदा आत्महत्याको प्रयाससमेत गरे।
‘म खाली भगवानलाई दोष दिन्थेँ। शरीर केटाको अनि आत्मा किन केटीको बनाइदिएको भन्थेँ। म कसरी बाँच्ने? यस्तै प्रश्नले सताइरहन्थे,’ भूमिकाले भनिन्, ‘त्यो बेला मरेको भए सायद आज म जे छु त्यो हुने थिइनँ। खै, के कुराले रोक्यो। बाँच्नुपर्छ भन्ने सोच आयो, आत्महत्या गरिनँ।’
विद्यालयबाट निकालिएपछि उनको पढाइ सधैंका लागि टुंगियो। रन्थनिँदा रन्थनिँदै १६ वर्षको उमेरमा एक दिन उनी निलहीरा समाज (ब्लु डाइमन्ड सोसाइटी) की अध्यक्ष पिंकी गुरुङसँग भेट गर्न पुगे।
पिंकी पुरुषबाट महिला बनेकी पारलिंगी व्यक्ति हुन् भन्ने उनले थाहा पाए। शरीर र स्वभाव परस्पर विपरीत देखिने आफूजस्ता अरू व्यक्तिहरू पनि भेटे। महिलाबाट पुरुष र पुरुषबाट महिला बनेका व्यक्तिहरू भेटे।
‘यो संसारमा म एक्लै होइन रहेछु भन्ने थाहा पाएँ,’ उनले भनिन्, ‘आत्मबल बढ्यो, जिउने आशा बलियो हुँदै गयो।’
नीलहीरा समाजको सम्पर्कमा पुगेपछि कैलाशले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको व्यक्ति हुँ भन्ने थाहा पाए। समुदायका व्यक्तिहरू ‘एलजिबिटिआइक्यू’ भनेर संगठित भएको पनि थाहा पाए।
एल– लेस्बियन (समलिंगी महिला), जी– गे (समलिंगी पुरुष), बी– बाइसेक्सुअल अर्थात् उभयलिंगी, टी– ट्रान्सजेन्डर, आई– इन्टरसेक्स अर्थात् अन्तरलिंगी र क्यू– क्याएर अर्थात् खुल्न नसकेका।
‘मैले म आफू यसैभित्रको टी अर्थात् ट्रान्सजेन्डर (पारलिंगी) वुमन हुँ भन्ने थाहा पाएँ,’ उनले भनिन्, ‘यसपछि मैले आफ्नो अधिकारका लागि लड्ने अठोट गरेँ।’
यो अठोटसँगै कैलाशले नाम फेरेर भूमिका राखे। प्राकृतिक शरीरले पुरुष देखिने कैलाशले आफ्नो प्राकृतिक स्वभावअनुसार भूमिका बनेपछि आफ्नो लैंगिक पहिचान पनि ‘पुरुष’ बाट महिला बनाए।
निलहीरा समाजसँग जोडिएपछि भूमिका नागरिकता प्रमाणपत्र बनाउन जिल्ला प्रशासन कार्यालय गइन्। उनी नाम भूमिका श्रेष्ठ र लैंगिक पहिचान महिला राखेर नागरिकता बनाउन गएकी थिइन्।
उनले सोचेजस्तो सजिलो कहाँ हुन्थ्यो र! उनलाई नागरिकता बनाएर तुरुन्तै राहदानी पनि बनाउनु थियो। निलहीरा समाजको एक कार्यक्रममा सहभागी हुन विदेश जानुपरेको थियो।
उनले त्यति बेलाको स्थानीय निकाय र जिल्ला प्रशासनका अधिकारीहरूलाई कुरा बुझाउने प्रयास गरिन्। आफू एलजिबिटिआइक्यू समुदायको हुँ भनेर सबै खुलासा गरिन्। सरकारी अधिकारीहरू उनलाई महिला मान्न तयार भएनन्।
आफ्नो समयसीमाभित्र नागरिकता प्रमाणपत्र बन्ने भएन, कार्यक्रममा सहभागी हुन नसक्ने अवस्था भयो। उनले जिकिर गर्नमा समय खेर फाल्न चाहिनन्। उही पुरानै नाम र पुरुष पहिचानमै नागरिकताको प्रमाणपत्र लिइन्। सोहीअनुसार राहदानी बनाइन्।
नागरिकता प्रमाणपत्र र राहदानी पुरुष पहिचानको छ, चालढाल महिलाको। यसोभएपछि उनी एयरपोर्टमा केरकारमा परिन्। परिस्थिति स्वीकार र सामना गर्नुको विकल्प थिएन।
‘विमानस्थलमा केरकार मात्रै भएन, शारीरिक जाँच पनि भयो,’ उनी सम्झिन्छिन्, ‘यस घटनाले मलाई साह्रै दुःखी बनायो।’
एलजिबिटिआइक्यू समुदायको अधिकारको संघर्षसँगै भूमिकाले राजनीतिमा पाइला चालिन्। नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचित भइन्।
पहिलो संविधानसभामा नेकपा संयुक्तको तर्फबाट यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सुनिलबाबु पन्त सभासद बनेका थिए। उनी समुदायको पहिचान र अधिकारका अभियानी समेत थिए। उनले २०७० सालमा एलजिबिटीआइक्यू समुदायका ३६५ जनालाई पार्टीमा प्रवेश गराएका थिए।
भूमिका सुनिलबाबुको राजनीतिक सक्रियताबाट प्रेरित थिइन्। उनी राजनीतिमा सक्रिय त भइन् तर पहिचानको अन्योलले त्यहाँ पनि पनि समस्या पर्न थाल्यो।
भूमिकाले महिला पहिचानसहितकै नागरिकता बनाएरै छाड्ने अठोट गरिन्। प्रशासनका अधिकारीहरू भूमिकाको अठोटमा सहमत भएनन्। उनको लैंगिक पहिचान ‘अन्य’ मा राखिदिने भए।
भूमिका किन पछि हट्थिन् र! उनले आफ्नो माग मन्त्रिपरिषदमा पुर्याइन्। अन्ततः सुनुवाइ भयो। मन्त्रिपरिषदले उनको लैंगिक पहिचान परिवर्तन गरी महिलाको नाममा नागरिकता बनाइदिन जिल्ला प्रशासनलाई स्वीकृति दियो।
यस्तो अठोट र संघर्षपछि लैंगिक पहिचान ‘अन्य’ बाट महिला अनि नाम भूमिका श्रेष्ठ लेखेर नागरिकता प्रमाणपत्र बन्यो। आफ्नो पहिचानका लागि संघर्षका ती दिन सम्झिँदा आज पनि भूमिकाका आँखा रसाउँछन्।
‘मैले त अलि धेरै पहुँचको कारणले आफ्नो पहिचानसहितको नागरिकता पाएँ। मजस्ता व्यक्तिहरू अरू पनि छन्, आफू के हुँ भन्ने थाहा छैन,’ भूमिका भन्छिन्, ‘म उनीहरूका लागि आइडलका रूपमा स्थापित हुन चाहन्छु।’
आफूजस्ता अल्पसंख्यकको पहिचान र अधिकारका लागि संघर्षशील रहने भूमिकाको अठोट छ।
यही अठोटको पृष्ठभूमिमा आत्मकथा लेखेकी छन्, जसको नाम पनि ‘भूमिका’ नै राखेकी छन्। उनको पुस्तक सार्वजनिक भएको तीन वर्ष पूरा भयो। अभिनेता रमेश उप्रेती, अभिनेत्री रेखा थापा, पूर्वमिस नेपाल माल्भिका सुब्बा लगायतले उनको आत्मकथा सार्वजनिक गरेका थिए।
‘बजारका आत्मकथाहरू कि महिलाका छन्, कि पुरुषका। नेपाली समाजमा महिला र पुरुषबाहेक अर्को समुदाय पनि छ भनेर धेरैलाई थाहा छैन,’ भूमिका भन्छिन्, ‘हाम्रो समुदायको पहिचानकै लागि मैले आत्मकथा लेखेकी हुँ।’
आत्मकथाले भूमिकालाई लेखकका रूपमा पहिचान दियो। एलजिबिटीआइक्यू समुदायका व्यक्तिहरूलाई ऊर्जा दियो।
त्यस्तै भूमिका ‘मिस पिंक’ प्रतियोगितामा पनि सहभागी भएकी भइन्। त्यहाँ सहभागी हुनु मात्रै पनि उनका लागि उपलब्धिको कुरा थियो। तर भूमिका विजयी नै भइन्।
‘जित्छु भन्ने त विश्वास नै थिएन तर उत्कृष्टमा छानिएछु,’ भूमिकाले त्यो दिन स्मरण गरिन्, ‘मेरो शिरमा मिस पिंकको ताज थियो। यति खुसी थिएँ कि स्कुटर चढेर घर जाँदा हेल्मेट नलगाई ताज नै लगाएर गएँ।’
भूमिकाले नेपाली फिल्म ‘हाइवे’ र ‘कान्छी’ मा अभिनय पनि गरेकी छन्। तर यो क्षेत्रमा अघि बढिनन्।
उनलाई नेपाल सरकारले जनसेवा श्री २०७८ बाट पनि विभूषित पनि गरेको छ।
कुनै बेला थियो जब भूमिकालाई यो संसारमा म एक्लै छु भन्ने लाग्थ्यो। आज आफूजस्ता धेरैको पहिचान र अधिकारका लागि आवाज उठाउँदैछिन्। उनका कदम र कथाहरूले विदेशी सञ्चारमाध्यममा समेत स्थान पाइरहेका छन्।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर