
बाजुरा: किशाेरी लक्षित पाठेघरकाे मुखकाे क्यान्सर राेग बिरुद्धकाे एच.पि.भी. खोप अभियान २०८२ सम्बन्धी सञ्चारकर्मी संग अभिमुखिकरण कार्यक्रम गरिएको छ।

साेमबार मार्तडीस्थित जिल्ला स्वास्थ्य कार्यालय बाजुराकाे सभाहलमा नियमित खाेपमा विद्यालय केन्द्रीत (एचपिभी) खाेप सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको हाे।राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत क्यान्सर राेग बिरुद्धकाे एच.पि.भी खोप अभियान बाजुरामा माघ २७ देखि फागुन ३ गतेसम्म सञ्चालन हुन लागेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
खाेप अभियानमा जिल्लाका ९ वटै स्थानीय तहका करिब १ हजार ८ सय ६ जना किशोरीहरुलाई खाेप लगाईने स्वास्थ्य कार्यालय बाजुराका निमित्त प्रमुख लाल बहादुर खड्काले बताए।उनका अनुसार,यस वर्ष जिल्लामा कक्षा ६ मा अध्ययनरत १ हजार ७ सय ८१ र गत वर्ष छुटेका २५ जना गरी कुल १ हजार ८ सय ६ जना किशोरीलाई एचपिभी खोप दिइनेछ ।
विद्यालय नजाने किशोरीका हकमा १० वर्ष उमेर समूह,गत वर्ष खोप छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत किशोरी,साथै ११ देखि १४ वर्ष उमेर समूहका विद्यालय नजाने किशोरीहरूलाई पनि खोप दिइने उनले जानकारी दिए।गत बर्ष जिल्लामा अभियानका रुपमा ७ हजार ८ सय बढि किशोरीहरुलाई एचपिभी खाेप लगाईएकाेमा याे बर्ष नियमित खोपका रुपमा कक्षा ६ र छुटेका किशोरी गरेर करिब १ हजार ८ सय ६ जना किशोरीलाई खाेप दिईने भएको हाे।
गत बर्ष सबैभन्दा बढि त्रिबेणि नगरपालिकाका १ हजार २ सय ११ र सबैभन्दा कम जगन्नाथ गाउँपालिकामा ४७३ किशोरीहरुलाई खाेप लगाईएकाे थियाे।याे बर्ष सबैभन्दा बढि बुढिनन्दा नगरपालिकामा २ सय ८० र सबैभन्दा कम गाैमुल गाउँपालिकामा ८८ जना किशोरीलाई खाेप लगाईने छ।
त्यस्तै बडीमालिकामा ६ छुट सहित जम्मा २ सय ६८ खप्तड छेडेदहमा २ सय ६५ त्रिवेणी नगरपालिकामा १ छुट सहित जम्मा २ सय ५९ बुढिगंगामा १८ छुट सहित जम्मा २ सय ४७ जना किशोरीलाई खाेप लगाईने छ ।साथै स्वामिकार्तिकमा १ सय ६६ हिमालीमा १ सय २० र जगन्नाथमा १ सय ६ जना किशोरीलाई खाेप दिईने छ।
खोप अभियान गौमुल, बुढीगंगा र त्रिवेणीमा माघ २७ गतेबाट, स्वामीकार्तिक खापर, जगन्नाथ, बडीमालिका, खप्तड छेडेदहमा २८ गतेबाट र हिमालीमा २९ गतेबाट सञ्चालन हुने भएको हाे।गत बर्ष जिल्लाभर ९८ प्रतिशत किशोरीहरुलाई एचपिभी खोप दिइएको थियो ।अन्तरक्रिया कार्यक्रममा खाेप समन्वय समिति अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख तुलसीराम राेकायाले खाेप अभियानलाई सफल बनाउन सबैेले हातेमालो गरेर अघि बढ्नुपर्ने बताए।
खाेपले जीवन रक्षा गर्ने हुँदा कसैले कुनै पनि खाेप नछुटाउनु पर्नेमा जाेड दिए। एच.पि.भी भाईरस २०० भन्दा धेरै प्रजातिका हुन्छन् जसमा १६ र १८ जाेखिम प्रजातीका हुन्। पाठेघरकाे मुखकाे क्यान्सरले दैनिक नेपालमा ४ जना किशोरीहरुकाे मृत्यु हुने गरेकाे छ ।यसकाे राेकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले पटक-पटक समयमा यस सम्बन्धि खाेप अभियान सञ्चालन गर्दै आईरहेकाे छ ।
लक्षित जनसंख्याकाे आधारमा याे बर्ष बाजुरामा १ हजार ८ सय ६ जना किशोरीहरुलाई खाेप लगाईने भएको हाे।पाठेघरकाे मुखकाे क्यान्सर ह्युमनप्यापिलाेमा भाईरसले लाग्ने गर्दछ। महिलाहरुमा हुने विभिन्न क्यान्सरहरु मध्ये पाठेघरकाे मुखकाे क्यान्सर प्रमुख कारण हाे ।तल्लाे पेट दुख्नु,गनाउने पानी बग्नु,अनियन्त्रित रुपमा रगत बग्नु यस राेगका प्रमुख लक्षण रहेका छन्।
पाठेघरकाे मुखकाे क्यान्सरलाई जनस्वास्थ्य समस्याकाे रुपमा नरहने अबस्थामा पुर्याउन नेपाल सरकारले २०३० सम्म तीन वटा स्वास्थ सेवाकाे गन्तव्य निर्धारण गरेकाे छ ।किशोरीहरुमा हुने पाठेघरकाे मुखकाे क्यान्सरले दैनिक रुपमा नेपालमा विकराल रुप लिदै गएकाे पाईन्छ ।
जिल्ला खोप समन्वय समिति अध्यक्ष तथा समन्वय समिति प्रमुख तुलसीराम रोकायाको अध्यक्षतामा सञ्चालन भएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनी, बडीमालिकाका नगर प्रमुख अमर खड्का,उद्योग बाणिज्य सङ्घ बाजुराका अध्यक्ष देव बहादुर राेकाया,स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लाल बहादुर खड्का,सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालयका कर्मचारी प्रशान्त जोशीले गरेका थिए ।




खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर