
चैत्र,८- कुनैपनि देशको पहिचान त्यस देशको मौलिक संस्कृतिबाट प्रतिबिम्बित हुन्छ । मौलिक संस्कृतिसँग जोडिएका ऐतिहासिक तथा पुरातात्विक स्थान विशेषबाट पनि त्यस देशको पहिचान झल्कन्छ । जस्तो फ्रान्सको आइफल टावर,भारतको ताजमहल,चीनको ग्रेटवाल,इजिप्टको ग्रेट पिरामिड,अमेरिकाको स्ट्याचु अफ लिवर्टी,नाइजेरियाको नाइजेरिया फल्स,सिड्नीको अपेरा हाउस,जापानको माउण्ट फुजी,नेपालको पशुपतिनाथ मन्दिर आदि समेत गरी २५ स्थान विशेषलाई युनेस्कोले विश्व सम्पदा सूचीको टप २५ स्थानको सूचीमा सूचीकृत गरेको छ ।

युनेस्कोले सूचीकृत गरेका यी देशहरुको भ्रमण गर्न लाखौं पर्यटक लालायित हुन्छन् । वर्षेनी पर्यटकहरु ती स्थानको भ्रमणमा निस्कन्छन् । विश्वका धनी देश हुन् या गरिब ती देशको आम्दानीको मूख्य आर्थिक स्रोत पर्यटनलाई लिने गरिन्छ । नेपाल जस्तो पुरातात्विक र सांस्कृतिक विविधताले पूर्ण भएकोे देशका लागि त पर्यटन व्यवसाय देश विकासको मूख्य आधार हो,सोही मान्याता राख्दै आइएको पनि छ । नेपालको पर्यटन व्यवसायको मुख्य आकर्षणको केन्द्र हो,ठमेल बजार । यस लेखमा ठमेल बजारको प्रसंग समेटिएको छ ।
२०४५ सालतिर म स्नातक तहको अध्ययनका लागि काठमाडौं प्रबेश गरेको थिएँ । अध्ययनको क्रममा मैले झण्डै १२/१३ वर्ष काठमाडौंमा विताएँ होला । बाँकी समयावधिमा वर्षमा एकदेखि डेढ महिनाको अवधिमा नचाहेर पनि एक पटक काठमाडौं जाने काम परेकै हुन्छ । काठमाडौंले मलाई नछाडेको हो कि मैले काठमाडौं छाड्न नचाहेको वा नसकेको भन्नेमा द्विविधामा छु । काठमाडौंमा रहँदा बस्दा मैले हिजोको काठमाडौंलाई जसरी बुझे,अरथ्याएँ । त्यसलाई मैले आजको काठमाडौंसँग जोडेर हेर्ने गरेको छु । यसरी हेर्दा मेरो मानसपटलमा केही प्रश्न उब्जेका छन् ।
काठमाडौंको मौलिक संस्कृति कसरी दिनप्रतिदिन लोप र स्खलित हुँदै गैरहेको छ ?मेरो प्रश्नको जवाफको उत्तर खोज्ने प्रयासको क्रममा मैले बासस्थानलाई परिवर्तन गर्ने निधो गरें । त्यसको लागि मैले ठमेलको कुनै होटलमा बस्ने योजना बनाएँ । ठमेल बजारको काठमाडौं सिटी प्लाजाबाट काठमाडौंलाई अध्ययन गर्ने प्रयास गरें । यो होटेलमा मैले तीन रात बिताएँ । तीन रातको बसाइँले नेपालको पर्यटन ब्यवसाय कसरी ओरालो लाग्दै छ ?छाडा संस्कृतिले युवा/युवतीहरु कसरी आक्रान्त हुँदैछन् ?भन्ने कुरालाई नजिकबाट नियाल्ने मौका मिल्यो । यसले काठमाडौं नेपालको पर्यटन ब्यवसायको मुख्य केन्द्र ठमेल बजारप्रतिको मेरो पुरानो बुझाईमा काफी बदलाव आयो ।
सन् २०१२ मा मलाई दक्षिण कोरियाको चुनघम नेशनल युनिभर्सिटीको निमन्त्रणामा दक्षिण कोरिया जाने अवसर मिलेको थियो । १२ दिनको कोरियाको बसाइँको क्रममा २ दिन राजधानी सिउलमा बस्ने कार्यक्रम थियो । काठमाडौंको ठमेल बजारजस्तै राजधानी सिउल नजिकै क्याम्वुक प्यालेस भन्ने ठूलो बजार छ । उक्त बजारमा ठमेलमा पाइने सबै प्रकारका क्युरियोका समानदेखि पर्यटकलाई आकर्षित गर्ने मौलिक संस्कृति झल्कने समान पनि बिक्री गरिदो रहेछ । काम र अध्ययनको क्रममा कोरिया पुगेका नेपाली युवाहरुले क्याम्वुक प्यालेसलाई ठमेल बजार भन्दा रहेछन् । मैले पनि उक्त बजारलाई नजिकबाट नियाल्ने मौका पाउँदा साँच्चिकै ठमेलको झझल्को दिएको लाग्यो । म कोरिया जाँदा ठमेलबाट केही समान खरिद गरेको थिएँ । मैले मेरो देशको ठमेल र कोरियाको ठमेल बजार (क्याम्वुक प्यालेस) लाई तुलना गरेर हेरें । बास्तवमा मेरो देशको ठमेल र दक्षिण कोरियाको ठमेलका बीच धेरै समानता पाएँ ।
यसपाली १० वर्षपछि मैले मेरो ठमेललाई नजिकैबाट अध्ययन गर्ने मौका पाएँ । तर मलाई यति धेरै पीडावोध भयो,किनकि मेरो हिजोको ठमेल बजार आज रहेनछ । मैले अतितलाई सम्झे,मैले देखेको र नेपालको ठमेलसँग तुलना गरेको दक्षिण कोरियाको क्याम्वुक प्यालेस आज कहाँ पुग्यो होला । कोरियाको मौलिक संस्कृति विश्व सामु पुर्याउन र देशको अर्थतन्त्रलाई माथि उकास्न क्याम्वुक प्यालेसले उच्च योगदान पक्कै दिएको थियो,अहिले त्यसले गुणात्मक फड्को मारेको हुनु पर्दछ । तर आज मेरो देशको ठमेलमा मेरो देशको संस्कृति झल्कने सरसमान छैनन् । क्युरियो पसलहरु फाट्टफुट्टमा मात्र देख्न पाइन्छ । १० वर्ष पहिले मैले देखेको ठमेलमा विदेशीहरुको घुईचो लाग्दथ्यो । मेरो ठमेलमा अचेल विरलै विदेशीहरु देखिन्छन् । देखिएका र भेटिएका विदेशी पाहुनाहरु पनि धेरै दिन बस्न रुचाउँदैनन् । उनीहरुको आँखामा खुसी देखिन्न । देखिन्छ त केवल भय र त्रास ।
काठमाडौं मौलिक सहर होइन,कस्मेटिक सहर जस्तो यान्त्रिक सहरमा परिणत भएको छ । यहाँ मौलिकता छैन । अनुहारमा जबर्जस्ती लाली पाउडर पोतेर चम्किलो बनाइएको अधबैंसे महिला/पुरुषको अनुहार जस्तो देखिन्छ । मेरो धरहरामा मौलिकता छैन,न रानीपोखरीमा आफ्नोपन छ,न नेपालको पहिलो पाठशाला दरवार हाइस्कूलमा हाम्रोपन झल्कन्छ । मेरो देशको मौलिक संस्कृतिको प्रवद्र्धन गर्दै विश्व सामु नेपाललाई चिनाउने कला,संस्कृति र पुरातत्व झल्कने समान ठमेल बजारमा अहिले छैन । त्यहाँ त मुन्दे्रहरुको कव्जा छ । यौन प्यास मेटाउने युवा युवतीहरुको भीड छ,कोलाहल छ,चित्कार छ । रातको १० बजेपछि ठमेल बजारमा राज्यको उपस्थिति शून्य छ । प्रहरी छैन,प्रशासन छैन । जसलाई जे मन लाग्यो,गर्न छुट छ । रोकटोक गर्ने कुनै संयन्त्र छैन । मानौं कि राति ११ बजेदेखि विहान ४ बजेसम्म ठमेल बजार यौनब्यापारी र डनहरुको कव्जामा छ जस्तो लाग्दथ्यो । मेरो जिज्ञासा मेटाउन होटेलवाला साहूलाई यसबारे सोधें,मेरो अनुमान सत्य सावित भयो ।
आधुनिक संस्कृतिको नाममा नेपालको मौलिक संस्कृति कसरी लोपोन्मूख हुँदैछ भन्ने कुराको प्रतिनिधिमूलक नमूनाको सजीव सचित्र हो ठमेल बजार । संस्कृतिको विकृतिकरण देशव्यापी रुपमा हँुदैछ । ठमेलको विकृत संस्कृतिलाई रोक्नेतर्फ राज्यको ध्यान गएको देखिदैन । ठमेलमा राज्यविहीनताको स्थिति सिर्जना हुनु देशको लागि लज्जाको विषय हो । यस्तो विकृत संस्कृतिबाट हुर्केका युवा युवतीहरुको मनोविज्ञान र मनोदशाबाट कस्तो समाज निर्माण हुन्छ होला । सम्वन्धित सरोकारवालाहरुको समयमै ध्यान जान जरुरी छ ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर