
११ फागुन, काठमाडौं – हेटौंडाका सृजन कोइरालाले आफ्नै डेरीमा उत्पादन गरेको छुर्पी अमेरिका निर्यात थालेको पाँच वर्ष बित्यो । २०७३ साल मंसिरमा उनले पहिलो पटक २ हजार किलो छुर्पी अमेरिकामा बिक्रीका लागि पठाएका थिए ।

हेटौंडामा उत्पादन भएको छुर्पी कुकुरको आहाराको रुपमा निर्यातकर्ता मार्फत अमेरिका पठाइएको र त्यो निकै रुचाइए पछि वर्षेनी निर्यात सुरु भएको कोइरालाले बताए । अमेरिकामा निर्यात थालेको पाँच वर्षमा उनको व्यापार अहिले झनै फराकिलो बन्दै गएको छ । ‘मासिक ३० हजार किलोसम्म छुर्पी अमेरिका पठाइरहेका छौं, बजार राम्रो रहेछ,’ कोइरालाले अनलाइनखबरसँग भने ।
वार्षिक ४ करोड रुपैयाँ बराबरको छुर्पी आफूले अमेरिका पठाइरहेको उनको भनाइ छ । हेटौंडामा उपलब्ध हुने ४० हजार लिटर दूध अलवा विभिन्न १४ जिल्लाका किसानहरुबाट संकलन हुने दूधबाट छुर्पी उत्पादन गरिरहेको कोइरालाले बताए । ‘काँचो छुर्पी बनाउन किसानलाई तालिम दिएका छौं, छुर्पी बनाउँदा आउने फ्याटबाट किसानलाई नाफा हुन्छ, काँचो छुर्पीलाई हामीले प्रशोधन गरेर तयार भएपछि निर्यात गर्छौं’ कोइरालाले भने ।
काठमाडौंको म्हेपीमा रहेको लर्डबुद्ध हिमालयन प्रालिले पनि अमेरिकामा छुर्पी निर्यात गर्छ । विभिन्न हिमाली जिल्लाहरुमा हुने उत्पादनलाई अमेरिकाका सबै जसो सहरमा पठाइने कम्पनीका सञ्चालक गौरव श्रेष्ठले बताए । ‘छुर्पीको माग अमेरिका, जापान र युरोपेली मुलुकहरुमा छ । हामीले ७ वर्षदेखि नेपालबाट कृषि वस्तु निर्यात गरिरहेका छौं,’ श्रेष्ठले भने, ‘अहिले अमेरिकामा राम्रो बजार छ, जापान र युरोपेली मुलुकमा निर्यात गर्न कठिन भइरहेको छ ।’ भारतबाट पनि ती मुलुकहरुमा यस्ता वस्तुको निर्यात हुने भएकाले प्रतिस्पर्धा गर्न र बजार खोज्न कठिन भएको श्रेष्ठले बताए ।
यता, सरकारी स्वमित्वको दुग्ध विकास संस्थानले पनि नेपालबाट एक लाख १० हजार किलो घिउ जापान निर्यात गरेको जनाएको छ । प्रतिकिलो एक हजार एक सय रुपैयाँका दरले आफूहरुले ५५ हजार किलो र निजी क्षेत्रमार्फत थप ५५ हजार किलो घिउ निर्यात भएको संस्थानका योजना तथा बजार व्यवस्थापन विभाग प्रमुख सञ्जीव झाले बताए । ‘नेपाली दुग्ध उत्पादनको बजार बाहिर पनि राम्रै रहेछ, हामीले दुई चरणमा एक लाख १० हजार लिटर घिउ निर्यात गर्न सक्यौं,’ झाले भने, ‘५५ हजार लिटरका लागि हामीसँग नै पार्टी आएका थिए । बाँकी निर्यातका लागि निजी क्षेत्रले लगेका हुन् । ’
कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार नेपालबाट दुग्ध उत्पादन निर्यात विस्तारै बढ्दैछ । चालु आर्थिक वर्षको ७ महिनामा मात्रै नेपालबाट अमेरीका, जापान र युरोपेली मुलुकमा एक अर्ब २० करोड रुपैयाँ बराबरको छुर्पी र घिउ निर्यात भएको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए ।
उत्पादकले आफूले उत्पादन गरेको छुर्पी वा घिउलाई निर्यात गर्नु परेमा पहिले निर्यात प्रयोजनको गुणस्तर भए नभएको जाँच गाराउनु पर्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुमति लिएका यस्ता उत्पादकले आफ्नो वस्तुको गुणस्तर परीक्षणको निवेदन विभागमा दिन सक्छन् ।
विभागमा प्राप्त हुने यस्तो निवेदनमा निर्यात हुने गुणस्तर रहेको खण्डमा गुणस्तर प्रमाणीकरणको प्रमाण पत्र जारी हुन्छ । यस्तो प्रमाण पत्र जारी भए पछि कृषि विभागले निर्यातका लागि यस्तो वस्तुको क्वरिन्टीन जाँच गर्छ । सोही क्वरेन्टिन जाँच पछि उत्पादन पास भए निर्यातका लागि विभागबाट उत्पादकले सर्टीफिकेट पाउँछन् । त्यस्तो वस्तुलाई उत्पमदकले निर्यातका लागि पठाउन सक्छन् । बजार विस्तार र प्रचारमा आक्रामक भएका कारण अमेरिकी र युरोपका केही बजारमा नेपाली नेपाली भन्दै यस्ता वस्तुको बिक्री भइरहेको गुनासो निर्यात कर्ताहरुको छ ।
यो समाचार आजको अनलाईनखबरमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर