• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 18, Nov, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

‘सफ्ट पावर’ लुम्बिनी

खप्तड मालिका न्युज February 21, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

फाल्गुन ९, २०७८ सोमबार – विश्वभरका बौद्ध स्मारकहरूमा गौतम बुद्धको जीवनसँग सम्बन्धित स्मारकलाई विशेष महत्त्वको मानिन्छ । ऐतिहासिक तथा पुरातात्विक दृष्टिबाट पनि यी महत्वपूर्ण नै हुन्छन् । बौद्धहरू बुद्धको जन्म, ज्ञानप्राप्ति, पहिलोपल्ट धर्म उपदेश र महापरिनिर्वाण गरी चार घटनालाई विशेषमहत्त्वका साथ लिन्छन् र यी घटनाहरू भएको ठाउँलाई चारधाम भनी अत्यन्त श्रद्धासहित भ्रमण गर्दछन् । यी चार स्थलसहित बुद्ध जीवनसँग सम्बन्धित अन्य चार स्थललाई पनि समावेश गरी समुच्चरूपमा अष्टमहास्थान भनी सम्बोधन गर्ने गरेको पाइन्छ । यी स्थलहरूमा वर्तमान नेपाल भूमिमा रहेको लुम्बिनी (जन्मस्थल) बाहेक अरू विभिन्न भारतीय भूमिमा छन् ।
आफ्नो अध्ययन–अनुसन्धानका क्रममा यो पङ्क्तिकार अष्टमहास्थानबाहेक अन्य ठाउँहरू पुगिरहनु स्वाभाविक हो । धेरैले सोध्ने एउटा प्रश्न हो, बुद्धको जीवनसँग सम्बन्धित बौद्ध स्थलहरूमा सबैभन्दा राम्रो र व्यवस्थित ठाउँ कुन हो ? नेपालमा लुम्बिनीको विकासमा सम्बन्धित निकायले ध्यान नै नदिएको भन्दै नकारात्मक टिप्पणी गरियोस् भन्ने आशयले यस्ता प्रश्न गर्ने गरेको बुझ्नन कठिन छैन तर उनीहरूको अपेक्षाविपरीत म यसरी जवाफ दिने गर्दछु, बुद्धको जीवनसँग सम्बन्धित ठाउँहरू सबैभन्दा राम्रो, व्यवस्थित, भव्य र सभ्य स्थलको रूपमा विकास भएको नै लुम्बिनी हो ।
आफ्नो देशको गौरव र त्यसको प्रशंसा गर्नु स्वाभाविक पनि हुन आउँछ । यहीक्रममा भावुक हुँदै लुम्बिनीलाई अतिशयोक्तिपूर्ण शब्दद्वारा प्रस्तुत गरेको कसैलाई लाग्छ भने त्यो गलत हो । वस्तुनिष्ठ भएर नेपाल र भारतका बौद्ध स्थलहरूको तुलनात्मक अध्ययन गर्दा पनि लुम्बिनीको तस्बिर यही रूपमा प्रकाश हुन्छ ।
गौतम बुद्ध र लुम्बिनी
बौद्धधर्म र दर्शनलाई सहज रूपमा सर्वसाधारणलाई समेत उपलब्ध गराउने एक ऐतिहासिक व्यक्ति हुन् गौतम बुद्ध । इ.पू. ५६३ मा उनको जन्म लुम्बिनी नामको एक उपवनमा शालवृक्षको रुखमुनि भएको थियो । तत्कालीन राजनीतिक परिदृश्यमा राज्यका रूपमा विभिन्न सोह्र वटा महाजनपद र पचासभन्दा बढी जनपदहरूको अस्तित्व थियो । अनेकौँ जनपदमा एउटा शाक्य जनपद थियो र त्यसको राजधानी कपिलवस्तुमा थियो । बुद्धको जन्मस्थल लुम्बिनी यही शाक्य जनपदअन्तर्गत कपिलवस्तुभन्दा करिब ३० किलोमिटर पूर्वमा पर्दछ । अनेक दृष्टिले यो स्थलको महत्त्वबोध गरेर संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ । यही गौरवबाट गौरवान्वित हुँदै प्रदेशको नाम नै लुम्बिनी राखिएको छ ।
बुद्ध जीवनीलाई प्रकाश पार्ने बौद्ध वाङ्मयमा एक प्रमुख ग्रन्थको नाम हो, ललितविस्तर । यस ग्रन्थअनुसार गर्भवती मायादेवीलाई लुम्बिनी वनमा विहार गर्ने इच्छा जागृत भएछ र त्यसका लागि उचित बन्दोबस्त गरेर लुम्बिनीका लागि प्रस्थान गरिएछ । लुम्बिनी शाक्यगण राज्य र छिमेकी कोलीय गणराज्यको बीचमा पर्दछ । मायादेवीको माइती कोलीय गणराज्यको राजधानी देवदहमा थियो । दुवै गणराज्यका घरानियाँहरू लुम्बिनी वनको विहार गरेर आनन्दित हुने भएका कारण मायादेवीलाई यस बेला लुम्बिनीमा जाने इच्छा जाग्नु नौलो कुरा थिएन । पहिलो सन्तान पाउनका लागि माइत जाने चलन भएको र त्यसैका लागि जाँदै गर्दा लुम्बिनीमा प्रसव पीडा भएको भन्ने कथन पनि पाइन्छ । तर यो कथनको पुष्टि प्राचीन बौद्ध वाङ्मयबाट हुँदैन ।
ललितविस्तर ग्रन्थ सुरुमा अन्य सम्प्रदायसँग सम्बन्धित भए पनि पछि महायानी बौद्ध सम्प्रदायको ग्रन्थ बन्न पुग्यो । यस ग्रन्थमा मायादेवी सीधै लुम्बिनीलाई गन्तव्य बनाए कपिलवस्तुबाट हिँडेको वर्णन पाइन्छ । यसदेखि बाहेक पालि वाङ्मयमा रहेका त्रिपिटक ग्रन्थहरूमा बुद्धको जन्मस्थल भनेर लुम्बिनीको नाम पटक–पटक उल्लेख भएको पाइन्छ तर माइत जाँदा बाटोमै सुत्केरी भएको भन्ने उल्लेख कहीँकतै पाइँदैन । यसको अर्थ माइत जान हिँडेको भन्ने कुरा पछि थपिएको मात्रै पनि हुनसक्छ । तत्कालीन समयमा पहिलो सन्तान जन्माउन माइत जानैपर्छ भन्ने अनिवार्य नभएको कुराको पुष्टि यशोधरा (गृहस्थ जीवनमा गौतम बुद्धकी पत्नी) ले छोरा राहुल माइतमा नभएर कपिलवस्तुमा नै जन्माएबाट थाहा हुन्छ ।
पैँतीस वर्षको उमेरमा इ.पू. ५२८ मा बुद्धत्व लाभ गरेको दुई वर्षपछि गौतम बुद्ध आफ्नो गृहनगर कपिलवस्तु फर्केका थिए । उनका अनुयायीहरू कपिलवस्तुमा मात्रै नभएर देवदह (कोलीय गणराज्यको राजधानी) मा पनि प्रशस्तै थिए । यही भएर कपिलवस्तु तथा देवदहमा बुद्ध बरोबर पुगिरहन्थे । यस क्रममा बुद्ध आफ्नो जन्मस्थल लुम्बिनी पुग्नु स्वाभाविक हो । बुद्धको महापरिनिर्वाण इ.पू. ४८३ मा कुशीनगरमा भएको थियो । अन्तिम क्षणमा बुद्धले आफ्नो निजी सचिव एवं नाताले भाइ भिक्षु आनन्दको प्रश्नमा तथागत (बुद्धले आफ्नोलागि सम्बोधन गर्न प्रयोग गर्ने विशेष शब्द) को जीवनसँग सम्बन्धित चार महत्त्वपूर्ण स्थलहरू संवेदनीय हुने र यी स्थलमा भ्रमण गरी ध्यान भावना गर्दा धर्म लाभ हुने कुरा भनेका थिए । यही भएर त्यस उप्रान्त बौद्ध उपासक–उपासिकाहरू लुम्बिनी पनि पुग्न थालेका हुन् ।
बुद्धको जन्म यही ठाउँमा भएको हो भनेर जनाउ दिनका लागि सुरुमा एउटा ढुङ्गा कतैबाट ल्याएर राखियो । पछि त्यही ढुङ्गा पनि श्रद्धाको विषय बन्यो । मौर्य सम्राट् अशोक इ.पू. २४९ मा यहाँ आएर उक्त ढुङ्गाको सुरक्षा गर्न चारैतिर इँटाको पर्खाल लगाए । बुद्ध जन्मेको बेलामा लुम्बिनी एउटा सुन्दर उद्यान मात्र थियो भने अशोक आउँदासम्ममा एउटा सानो गाउँ नै बसिसकेको थियो । लुम्बिनी परिसरमा रहेका ठूला–साना स्तूप, विहार तथा इनारलगायतका निर्माण संरचनाहरू मौर्य, शुङ्ग, कुषाण तथा गुप्तकालीन हुन् । त्यसपछि पनि लुम्बिनीमा अनेकौँ गतिविधि भइरहेका पाइन्छन् ।
तर पछि क्रमशः लुम्बिनी ओझेलमा पर्दै गयो र अन्ततः उक्त लुम्बिनी भन्ने ठाउँ कहाँ हो भन्ने कुरा नै बिर्सन पुग्यो । यस्तो अवस्थामा लुम्बिनीको खोजी अनेक ठाउँमा हुनथाल्यो । सन् १८९६ मा लुम्बिनी खोज्दै हिँडेका जर्मन पुरातत्वविद् ए. फुहररलाई अभिलेख प्रमाणसहित लुम्बिनी प्राप्त भएपछि लुम्बिनीतर्फ विश्वको ध्यान आकर्षित भयो । त्यसउप्रान्त लुम्बिनीमा अनेकौँ दृष्टिले अध्ययन, अनुसन्धान, उत्खनन तथा संरक्षण कार्य हुँदै आइरहेका छन् ।
लुम्बिनी विकास गुरुयोजना
लुम्बिनी भनेर आजभोलि जो कसैको मानसपटलमा जुनखालका परिदृश्य नाच्छन्, केही दशक अघिसम्म त्यस्तो कुनै पनि दृश्य लुम्बिनीमा बिल्कुलै पाइँदैनथ्यो । लुम्बिनीसम्म पुग्ने बाटोकै अभाव थियो । लुम्बिनी जानका लागि नेपालीहरू नै पहिला भारत जानुपर्दथ्यो र भारतको बाटो भएर बल्ल लुम्बिनी पुग्नुपर्दथ्यो । लुम्बिनी पुग्नेलाई बास बस्नकै समस्या हुन्थ्यो । तिर्खाएको बेला पिउने पानीको अभाव हुन्थ्यो । यस्तो स्थितिमा सन् १९६७ मा संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव ऊ थान्त काठमाडौँबाट हेलिकप्टर चढेर लुम्बिनी पुगेका थिए । लुम्बिनी भनेर मनमा एउटा दृश्य बोकेर आएका महासचिवलाई त्यहाँको उजाड र उराठलाग्दो वस्तुस्थितिले मर्माहत बनायो । लुम्बिनीको दुर्दशा देखेर द्रवीभूत हुँदै आँखाबाट आँसु झारेको दृश्य देख्नेहरू यस सन्दर्भमा सम्झना सुनाउँछन् ।
महासचिव फर्केर तत्कालीन राजा महेन्द्रलाई भेटी लुम्बिनीको विकासमा ध्यान दिनुपर्ने कुरामा जोड दिएका थिए । उनकै पहलमा संयुक्त राष्ट्रसङ्घ अन्तर्गत ‘अन्तर्राष्ट्रिय लुम्बिनी समिति’ गठन भयो । सो समिति हाल सक्रिय नभए पनि विघटन पनि भएको छैन । यसलाई सक्रिय पार्नु आवश्यक छ । लुम्बिनीको विकासका लागि गुरुयोजना बनाउने जिम्मा प्रो. केन्जो टाङ्गेले पाए । उनले तयार पारेको गुरुयोजना सन् १९७८ मा पारित भयो । अहिले लुम्बिनीको जुन स्वरूप तयार हुँदैछ, त्यो उनकै परिकल्पना हो । लुम्बिनी क्षेत्रले तीन वर्गमाइल क्षेत्रफल उत्तर–दक्षिण ओगटेको छ । सम्पूर्ण क्षेत्रफललाई तीन भागमा बाँडी प्रत्येक एक वर्ग माइलको भूमिमा बेग्लाबेग्लै विशेषता दिन खोजिएको छ ।
जसअनुसार सबैभन्दा उत्तरको भागलाई (१) नयाँ लुम्बिनी ग्राम, (२) विहार क्षेत्र र (३) पवित्र उद्यान क्षेत्रका रूपमा छुट्याइएको छ । यो संरचना आफैँमा बौद्ध दर्शन प्रतीत हुन्छ । प्रो. टाङ्गे बौद्ध परिवारमा हुर्केका वास्तुविद् हुन् भने उनको यो गुरुयोजना हेर्दा पनि बौद्ध दर्शनको गहिरो अध्ययन भएको र श्रद्धा पनि उत्तिकै भएको बुझिन्छ । लुम्बिनीका लागि आउने तीर्थयात्री तथा पर्यटकहरू सर्वप्रथम नयाँ लुम्बिनी ग्राममा बस्ने हुन्छन् । ग्राम भने पनि यो सुविधासम्पन्न सहर हो । गृहस्थहरू सांसारिक हुन्छन् र नयाँ लुम्बिनी गाउँ पनि सांसारिक नै बनाइन्छ । यहाँ होटेल, लज, रेस्टुरेन्ट तथा अन्य सुविधा उपलब्ध गराइन्छ । यसलाई प्रो. टाङ्गेले सहर भनेका भए पनि हुन्थ्यो तर गाउँ भन्नुको तात्पर्य बढीभन्दा बढी प्राकृतिक र सरल एवं सहज जीवनशैलीको क्षेत्र बनाउन खोजेको बुझ्न सकिन्छ । यहाँ बसेका तीर्थयात्री तथा पर्यटकहरू बुद्ध जन्मस्थल लुम्बिनी पुग्नका लागि सिधै दक्षिण लाग्नुपर्दछ । तर बीचमा अर्को वर्गाकारको ‘विहार क्षेत्र’ छ ।
झट्ट हेर्दा बीच बाटोबाट दक्षिणतर्फ लम्किरहेको नहरजस्तो देखिए पनि एउटा लामो पोखरी बनाइएको छ । हिँड्न नसक्नेहरूका लागि नौका विहार गरी बुद्ध जन्मस्थलसम्म पुग्न सकिन्छ । पोखरीको दायाँबायाँ फराकिलो बाटो छ । यसरी नै बाटोपछि ठूलठूला रुख रोपिएका छन् र त्यसपछिका दृश्य छोपिएका छन् । वास्तवमा यसको दायाँबायाँ विहारहरू निर्माण गरिएका छन् । पूर्वी दिशामा हीनयानी र पश्चिमतर्फ महायानी बौद्ध सम्प्रदायका विहार छन् । यी विहारहरू नेपाल, भारत, चीन, श्रीलङ्का, थाइल्यान्ड, म्यानमार, भियतनाम, जर्मनीलगायतका दर्जनौँ देशले आ–आफ्नै वास्तुशैलीमा बनाएका छन् । एउटै विहारको अवलोकन गरेर पनि केही हदसम्म त्यस देशको बौद्ध कला, संस्कृति तथा इतिहास बुझ्न सघाउने हुन्छ । विहार भनेको शिक्षाकेन्द्र पनि हो र ज्ञानगुनका कुरा यहाँ सिकेर तथा ध्यान–साधना गरेर चित्तशुद्धि गर्न सकिन्छ । बौद्ध धर्म–दर्शनमा चित्तशुद्धिलाई प्रमुख रूपमा लिने गरिन्छ । यसैले चित्तशुद्धि गर्ने ठाउँ भएर बुद्ध जन्मस्थलमा पुगिन्छ ।
आफ्नो जीवनसँग सम्बन्धित चार ठाउँहरू संवेदनीय हुन्छन् भन्नुको अर्थ यहाँ एक खालको तरङ्ग आउने र ध्यान–साधना गर्दा मनचित्त चाँडै लाग्ने भनेको बुझ्नुपर्दछ । तर बौद्धदर्शनको ज्ञानको कमीका कारण आजभोलि यहाँ पुग्नेहरू यताउता घुम्ने, फोटो खिच्ने तथा होहल्ला गर्ने गर्दछन् । वास्तवमा यहाँ आर्यमौन धारण गर्नुका साथै विस्तारै पाइला चालेर हिँड्नुपर्ने हो । बुद्ध ध्यान र साधनामा जोड दिन्थे । अर्थात् ध्यान कसरी गर्ने भन्ने कुरा पहिल्यै सिकेर यहाँ पुग्ने र केही समय छुट्याएर ध्यानमा बस्ने गरेको भए लुम्बिनी पुग्नुको सार्थकता हुन्थ्यो । यस्तो तयारी नहुँदा यहाँ पुग्नेहरू तुरुन्तै फर्कने गरेको पाइन्छ । बुद्ध जन्मस्थलको सङ्केत गर्ने शिला र त्यस वरिपरि भेटिएका पुरातात्विक संरचनाहरूलाई छोपेर बनाइएको वास्तु बाहिरबाट झट्ट हेर्दा कुनै भवनजस्तो देखिन्छ । भित्र प्रवेश गरेपछि भने पुरातात्विक उत्खननबाट प्राप्त सबै कुरा खुला प्रदर्शनीमा राखिएका छन् । यसैलाई ‘मायादेवी मन्दिर’ नाम दिइएको हो । वास्तवमा बौद्ध इतिहास वा लुम्बिनीको सन्दर्भमा ‘मायादेवी मन्दिर’ सान्दर्भिक कुरा होइन । मन्दिर शब्दले पूजापाठ वा त्यस्तो कुनै क्रियाकलाप हुने स्थल भनेर अर्थबोध गर्दछ तर यहाँ त्यस्तो केही चल्दैन । मायादेवी मन्दिर भन्न थालेको पनि लुम्बिनी भेटिएको निकै वर्षपछि मात्रै हो । यस भवनभित्र ध्यान गरेर बस्नेहरू पनि देख्न पाइन्छ ।
गुरुयोजनाले मूर्तरूप लिँदै
लुम्बिनीको विकास निर्माणका सम्बन्धमा प्रायः सुनिने टिप्पणी हो– यहाँ केही भइरहेको छैन । तर त्यस्तो होइन । गुरुयोजना अनुसारको निर्माणकार्य उहिल्यै सकिनुपर्दथ्यो । सुरुमा काम कुरा तीव्रताका साथ अगाडि बढेको भए पनि पछि सुस्त हुनआयो । त्यही बेला गरिने टिप्पणीलाई नै आजभोलि शब्दशः पुनरुक्ति गरिरहेको मात्रै भनेर बुझ्न सकिन्छ । केही वर्षयता यहाँ विकास गुरुयोजना अनुरूपको कामले तीव्रता लिएको देख्न पाइन्छ र बाँकी थोरै काम पनि सम्पन्न हुने तरखरमा पुगिसकेको छ । लुम्बिनीमा गुरुयोजना अनुरूप विभिन्न संरचना बनाएपछि कार्य सम्पन्न हुने र त्यसपछि केही गर्नु नपर्ने भन्ने होइन । अर्थात् यो जीवन्त संरचना हो र यसलाई दिगोपना दिनका लागि श्वास–प्रश्वासजस्तै मर्मतसम्भार तथा संरक्षणलगायतका काम गरिरहनुपर्दछ ।
विश्वको नासो
गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपाल भूमिमा पर्नु र विश्व सम्पदा सूचीमा सूचीकृत हुनु गौरवको कुरा हो । यसलाई नेपालको मात्रै सम्पदा मान्नु मनासिव हुँदैन । गौतम बुद्ध नेपालमा जन्मेका अवश्य हुन् तर उनी विश्वकै सम्पत्ति हुन् । यस अर्थमा लुम्बिनी नेपालले नासोका रूपमा पाएको र उक्त नासोलाई सुरक्षितसाथ राख्नु नेपालको कर्तव्य हो । यो कर्तव्य निर्वाह गर्नु नेपालले आफ्नो पहिचान बनाउनु पनि हो । विश्वको डबलीमा वर्तमानमा नेपालले न आर्थिक शक्ति देखाउन सकेको छ, न सैन्य वा राजनीतिक शक्ति नै । यी कुराहरूलाई ‘हार्डपावर’ भनिन्छ तर ‘सफ्ट पावर’का रूपमा नेपालले देखाउन सक्ने केही कुरामध्ये एउटा लुम्बिनी पनि हो । लुम्बिनीलाई नेपालले यस रूपमा बुझ्दा राम्रो हुन्छ । नेपालले लुम्बिनीको ऐतिहासिक, सांस्कृतिक तथा दार्शनिक महत्तालाई ‘सफ्ट पावर’का रूपमा प्रस्तुत गरेर विश्वकै मन जित्ने अवसर पाएको छ । बुद्धको जीवनसँग सम्बन्धित स्थलहरूमध्ये भव्य र सभ्य पनि यही लुम्बिनी हुनु सानो गौरवको कुरा होइन ।

यो समाचार आजको गोरखापत्रमा छ ।

सम्बन्धित पोस्ट
  • प्रचारमा चुनाव चिह्न अंकित कपडा प्रयोग गर्न नपाइने
  • राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने
  • भक्तपुरस्थित निवासबाटै मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं
  • बाजुराका प्रजिअ पाैडेलकाे तीन महिना नपुग्दै सरुवा
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    प्रचारमा चुनाव चिह्न अंकित कपडा प्रयोग गर्न नपाइने

    राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने

    भक्तपुरस्थित निवासबाटै मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं

    समाचार

    प्रचारमा चुनाव चिह्न अंकित कपडा प्रयोग गर्न नपाइने

    राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने

    भक्तपुरस्थित निवासबाटै मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं

    बाजुराका प्रजिअ पाैडेलकाे तीन महिना नपुग्दै सरुवा

    बाम्का बजारकाे गाथा समेटिएको साहित्यकार विष्टकाे काव्य लेख ‘प्रिय बाम्का’ सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑