
बन्दै गरेका करोडौंका योजना प्रभावित
जथाभावी ग्रेगेटो फाल्दा मुहान, पाइप लाइन र ट्यांकीमा असर
पाल्पा‚ रोल्पा‚ अर्घाखाँची — लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका महाभारत क्षेत्रमा पछिल्ला वर्ष चुनढुंगा उत्खनन भइरहेको छ । यसले पार्ने वातावरणीय, मानवीय र प्राकृतिक असरका विषयमा सरोकारवाला निकायले चासो नदिँदा स्थानीय बासिन्दा सास्ती खेप्न बाध्य छन् ।
पाल्पा, अर्घाखाँची, रोल्पा, प्यूठानलगायत जिल्लामा जथाभावी उत्खनन गर्दा कतै पानीका मुहान सुकेका छन्, कतै बन्दै गरेका करोडौंका खानेपानी योजना प्रभावित भएका छन् । जथाभावी गेग्रेटो फ्याँक्दा खानेपानीका मुहान, ट्यांकी, पाइपलाइन बिग्रिएका छन् । वर्षायाममा गेग्रेटो बगेर तल्लो तटीय क्षेत्रमा पुग्दा झन् समस्या निम्तिएको छ ।पाल्पाका १० स्थानमा चुनढुंगा उत्खनन हुन्छ । सत्यवती सिमेन्ट प्रालि कोलडाँडा र बीएस सिमेन्ट धामिगाबाहेक अन्यत्र सबै स्थानमा पानीका मुहान र पाइपलाइनमा असर पुगेको छ । पानीको मुहान सुक्ने, मूल सानो हुँदै जाने समस्या बढेको छ । निस्दीको ज्यामिरेस्थित होङ्सी, माथागढीको रहवासस्थित पाल्पा सिमेन्ट, तिनाउको श्रीडाँडास्थित सिद्धार्थ मिनिरल्स, तिनाउकै मरेकस्थित कञ्चन क्वेरिज, कचल र सिद्धेश्वरको सर्वोत्तम, तिनाउकै सुकेतालस्थित अल्फालगायत चुनढुंगा उत्खनन क्षेत्रको तल्लो भागमा खानेपानीका मुहान, स्थानीयको पाइपलाइन, खानेपानीका ट्यांकी रहेका छन् । ‘हामी ३४ घरपरिवारले खाने पानीका मुहानमा गेग्रेटो बगेर गएर प्रभावित गरेको छ,’ निस्दी गाउँपालिका–७, मठेखर्कका किमबहादुर आले मगरले भने, ‘पहिरोले पाइपलाइन बगायो । यो सबै माथिल्लो भागबाट बगेको गेग्रेटोकै कारण समस्या भएको हो ।’
होङ्सीको चुनढुंगा सञ्चालनमा आएपछि सामान्य पानी पर्दासमेत यहाँ खानेपानी धमिलो हुने गरेको उनले बताए । सरसफाइ नहुने र जथाभावी दिसापिसाब गर्दा खानेपानीको मुहानमा असर परेको छ । वर्षा लाग्यो कि यहाँको खानेपानी पिउनै नमिल्ने हुने गरेको उनले बताए । तिनाउ गाउँपालिका–३, श्रीडाँडामा पनि समस्या यस्तै छ । माथिल्लो भागमा चुनढुंगा उत्खनन हुँदा खानेपानीको पाइप बगाउने, मुहानमा क्षति पुग्ने, सिंचाइ कुलो बगाउनेजस्ता समस्या देखिएको छ । ‘खेतमा गेग्रेटो गएको थियो, खानेपानीसमेत गतिलो पिउन नपाउने भइयो,’ स्थानीय विष्णुमाया सोमैले भनिन्, ‘खानीका विषयमा कोही कसैले केही बोल्दैनन् ।’ अधमारामा खानेपानीको मुहान नै सुकेको छ । ट्यांकी र पाइपलाइनमा पनि समस्या आएको छ । ज्यामिरे गाउँमा ट्यांकी, मुहान र पाइपलाइनमा समस्या आएको स्थानीय कृष्णबहादुर रानाले बताए ।
तिनाउ गाउँपालिका–२, सुकेतालको माथिल्लो भागमा जथाभावी चुनढुंगा उत्खनन भइरहँदा तल्लो तटीय क्षेत्रका खानेपानीका मुहान मात्र होइन, ताललाई नै असर गरेको छ । सर्वोत्तम सिमेन्टको कचलस्थित खानीमा पनि जथाभावी गेग्रेटो फाल्दा तल्लो तटीय क्षेत्रका खानेपानीका ट्यांकी, मुहान, पाइपलाइनमा वर्षको चार महिना बढी समस्या छ । रैनादेवी छहरा–१, सिद्धेश्वरमा सञ्चालित सर्वोत्तम सिमेन्ट्सको सिद्देश्वर चुनढुंगा उत्खननले खानेपानी आयोजनाको काम प्रभावित भएको छ । सिद्धेश्वरका ४ सय ६२ घरधुरीलाई लक्षित गरी ०७२/०७३ सालमा मर्याङ्दी–चिसापानी खानेपानी आयोजनाको काम सुरु भएको थियो । ‘चुनढुंगा खानीकै कारण योजनामा ढिलाइ भएको छ,’ स्थानीय शिव न्यौपानेले भने, ‘लामो समयसम्म आयोजना नै प्रभावित बनेको छ ।’
खानेपानीको मुहानमाथि सर्वोत्तम सिमेन्ट प्रालिले विगत चार वर्षयता चुनढुंगा उत्खनन गरिरहेको छ । उत्खननले खानेपानी आयोजनाको कामलाई प्रभावित पारेको छ । ४ करोड ९८ लाख रुपैयाँको लागतमा खानेपानी आयोजनाको काम सुरु भएको हो । चुनढुंगा खानी उत्खननका कारण पानीको पाइप लाइन परिवर्तन गर्न बाध्य भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्राविधिक रोमाकान्त न्यौपानेले बताए । चुनढुंगा खानीका कारण पानीको मुहानमा बनाएको ट्यांकी अर्को स्थानमा सार्नुपरेको छ । पहिले बनाउन सर्भे गरेको पाइप लाइनसमेत परिवर्तन गर्नुपर्दा योजनाको काम समयमै सम्पन्न गर्न नसकेको उपभोक्ता समितिका अध्यक्ष ज्ञानबहादुर विकले बताए ।
खानीपानीको मुहानमाथि नै चुनढुंगा उत्खनन भएको छ । पहिले नै पानीको पाइपलाइन सर्भे गरेको स्थानमा खानी उद्योगले आफ्नो जग्गा भनेपछि पाइप लाइनसमेत परिवर्तन गरिएको छ । ७ सय ५० मिटरलाई बढाएर १ हजार ८० मा पुर्याउनु परेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पाका एक प्राविधिक अधिकारीले बताए । खानीका कारण दुई वर्षभित्रै सम्पन्न हुने योजनाको काम समयमै सम्पन्न गर्न ढिला भएको हो । खानीका कारण योजना प्रभावित बनेपछि सिद्धेश्वरको तल्लो असारे, माथिल्लो असारे, भुटुक्दी, मनभाकलगायत स्थानका बासिन्दाले पानी पिउन पाएका छैनन् । ‘लिफ्ट गर्ने खानेपानी ट्यांकीमा समेत माथिल्लो भागबाट फ्याँकेको गेग्रेटोले ट्यांकी पुरेको छ,’ उनले भने, ‘धेरै पटक उपभोक्ताले हारगुहार गर्दासमेत खानीले अटेरी गर्ने गर्दा ढिलाइ भएको हो ।’
माथिल्लो भागबाट फ्याँकेका गेग्रेटो, माटो र ढुंगा खानेपानीको मुहानसम्म पुगेको छ । ‘खानेपानी योजनाको काम सुरु भएको धेरै वर्ष भइसक्दा पनि पूरा गर्न नसक्नु भनेको चुनढुंगा खानीकै कारण हो,’ स्थानीय थानेश्वर कँडेलले भने, ‘खानीकै कारण समयमै पिउने पानी पाउन सकेका छैनौं ।’ खानीस्थलबाट २०/२५ मिटरको दूरीमै तल्लो र माथिल्लो असारे गाउँ छ ।
रोल्पाको रुन्टीगढी गाउँपालिका–६, गोदेरिचे क्षेत्रमा चुनढुंगा उत्खनन हुन थालेपछि पानीका मुहानमा असर पुगेको छ । रोल्पामा मात्र नभई छिमेकी दाङको तुलसीपुर क्षेत्रमा जाने मुहान क्षेत्रसमेत अहिले सुकेको छ । जथाभावी सडक खन्नु, पानीका मुहान नजिकैबाट दिनहुँ चुनढुंगा निकाल्दा समस्या भएको हो । ‘पानीको स्रोत चुनढुंगा भएकाले पनि जथाभावी पहाड खोतल्दा केही वर्षभित्र नै हाहाकार बढ्ने समस्या हुनेछ,’ होलेरीका स्थानीय जनक पुनले भने, ‘चुनढुंगा उत्खनन क्षेत्रमा पुग्ने पहुँच मार्ग र माथिल्लो भेगमा ठूला मेसिन सञ्चालनले पनि यस्तो अवस्था आएको हो ।’
चुनढुंगा उत्खननका लागि सडक निर्माणका क्रममा कतिपय मुहान नै पुरिएका छन् । वर्षायाममा आउने भेलले लेदो बगाउँदा राज्यको करोडौं लगानीमा निर्माण गरिएका संरचना प्रयोगविहीन अवस्थामा पुगेका छन् । कतिपय स्थानमा पानी शुद्धीकरण ट्यांकीमा लेदो जमेर प्रयोगविहीन अवस्थामा पुगेका छन् । खानी उत्खनन गर्ने उद्योग, सरोकारवाला निकायको भने यसतर्फ ध्यान पुग्नै सकेको छैन । पछिल्लो समयमा पानीका मुहान सुक्ने, वन, वातावरणमा असर परेपछि जथाभावी चुनढुंगा उत्खननको विरोध पनि भएको छ ।
रोल्पाको त्रिवेणी गाउँपालिका–४, बुढागाउँको सिम्पानी आसपास क्षेत्रमा चुनढुंगा निकाल्न थालेपछि स्थानीयले विरोध गरेका छन् । वन वातावरणीय प्रभावबारे अध्ययनबिनै चुनढुंगा निकाल्न थालेको स्थानीयको आरोप छ । रोल्पा चुनढुंगा प्रालिले जग्गा खरिद गर्ने र चुनढुंगा निकाल्ने अनुमति पाएको छ । होलेरीको मुरुले लेक जोगाउनसमेत संघर्ष समिति बनाइएको छ । खानेपानीका मुहानलाई असर गर्ने भएपछि यस्ता विरोधका कार्यक्रम सुरु भएका हुन् ।
स्थानीय तहको सिफारिसमा उद्योग मन्त्रालयले खानी उत्खनन गर्न अनुमति दिन्छ । तर स्थानीय तहमा यसबारे छलफल हुने गरेको छैन । खानी उत्खनन गर्नुअघि वातावरणीय अनुसन्धान र प्रमाणीकरणसमेत गरिएको छैन । वातावरणीय दृष्टिकोणले खानी सञ्चालन गर्नुअघि सामाजिक, वातावरणीय र भौगोलिक रूपमा अध्ययन नगरेको मुरुलेका युवा केशव चन्दले बताए । रुन्टीगढी गाउँपालिकास्थित होलेरी नजिकै रहेको मुरुले लेक र सुन्दर वन क्षेत्र संरक्षण गर्न युवाहरूले लामो समयदेखि सक्रियता देखाउँदै आएको उनले बताए । ‘स्थानीयको भावना स्थानीय तहले नबुझेजस्तो देखिएको छ,’ उनले भने । संघीय सरकारबाट अनुमति लिई एकै पटक चुनढुंगा निकाल्न व्यापारी आइसकेपछि मात्रै जानकारी हुने उनले बताए । ‘स्थानीय तहको अनुमतिबिना उनीहरू आउने कुरा भएन,’ उनले भने, ‘स्थानीयका बीच यसबारे कुनै छलफल भएको छैन ।’
अर्घाखाँचीमा पनि अवस्था उस्तै छ । जंगलसहितको नरपानी पहाडमा जथाभावी चुनढुंगा उत्खनन गर्दा खानेपानीको मुहान नै सुकेको थियो । नरपानीमा चुनढुंगा प्रमाणित हुँदा खुसी भएका स्थानीय खानेपानी बन्द भएपछि भने विरोधमा उत्रिएका थिए । ‘चुनढुंगा उत्खननको दुई वर्षपछि खानेपानीको मुहान नै सुक्यो,’ स्थानीय पदम केसीले भने, ‘सबै जना सडक आन्दोलनमा उत्रिएर खानी बन्द गरायौं । गाउँका धेरै मुहान नरपानीमै भएकाले खानी नै बन्द गर्नुपरेको हो ।’
अर्घाखाँची सिमेन्ट प्रालिले नरपानीमा चुनढुंगा उत्खनन गरेको थियो । स्थानीयको विरोधका बाबजुद पनि ढुंगा निकालेको कम्पनीले २०६८ कात्तिक २० गतेयता निकालेको छैन । ‘मुहान सबै सुके । मेसिनले पहाड फोर्दा जमिन हल्लिएर पानीका मुहान सुकेका हुन्,’ केसीले भने, ‘उत्खनन बन्द भएको १० वर्षपछि अहिले फेरि मुहानमा पानी पलाएको छ ।’ नरपानीडाँडाको पश्चिमपट्टि खाँची लेकको तीनपाने डाँडोमा भूगर्भ सिमेन्टले ढुंगा उत्खनन गरेको छ । तीन/चार वर्षमै हरियाली सुन्दर डाँडो मैदान बन्न लागेको छ । चुनढुंगा निकाल्न थालेपछि खानेपानीका मुहानमा पानी घट्दै गएको स्थानीय थम्मन केसीले बताए ।
खानेपानीको मूल सुक्दै गएपछि खानीमै पुगेर नेत्रविक्रम चन्द ‘विप्लप’ नेतृत्वको नेकपाले विरोेध गर्दै आएको छ । ‘तीनपानेको लेकमा ढुंगा उत्खनन गर्दा वातावरण बिग्रियो, हरियाली सुन्दर डाँडो मैदान बन्यो, भूक्षयको खतरा भयो,’ केसीले भने, ‘खानेपानीका मुहान सुक्दै छन् । यहाँ ढुंगा उत्खनन बन्द गरिनुपर्छ । पर्यटकीय गन्तव्य बनाउनुपर्छ ।’
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर